यस्तो रह्यो २०७७ मा जीवन बीमा कम्पनीहरुको प्रदर्शन, कसले कति दिए रिटर्न ?

काठमाण्डौ । सेयर लगानीकर्ताका लागि २०७७ साल निकै फलिफाप भएको देखिएको छ। नेप्सेमा सूचीकृत अधिकांश कम्पनीका सेयरभाउ बढेका छन् भने अधिकांश सूचकले रेकर्ड ब्रेक गरेका छन्।

कोरोनाकालमा अन्य क्षेत्रमा लगानी गर्न हिच्किचाएकाहरु सेयर बजारमा प्रवेश गरेका छन्। प्रविधिसँगै घरबाटै कारोबार गर्न मिल्ने भएपछि सेयर बजारमा निकै चमक देखियो यो वर्ष। कोरोनाकालमा आफ्नो बिजनेस बढाउन सफल जीवन बीमा कम्पनीको प्रदर्शन पनि दोस्रो बजारमा यो वर्ष उत्कृष्ट देखिएको छ। जसका कारण जीवन बीमा कम्पनीमा लगानीकर्ताहरु पनि मालामाल भएका छन्।

गत वर्ष जीवन बीमा कम्पनीका लगानीकर्ताले ४०० प्रतिशतसम्म रिटर्न पाएका छन् । गत वर्ष सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य बढेको देखिन्छ । गत मंसिर २९ गते आईपीओ निष्कासन गरेको प्रभु लाइफको कारोबार १४१ रुपैयाँमा खुलेको थियो। त्यसपश्चात हिजो अर्थात वर्षको अन्तिम दिनसम्म पुग्दा कम्पनीको सेयरमूल्य ८०० रुपैयाँ कायम भएको छ। यसरी यो कम्पनीको सेयरमूल्य ४६७।३७ प्रतिशतले वृद्धि भएको छ ।

एसियन लाइफ इन्स्योरेन्सको सेयरभाउ पनि अचाक्ली बढेको छ। यो कम्पनीका लगानीकर्ताले यो वर्षमात्रै १७६।१५ प्रतिशत रिटर्न पाएका छन् । वर्षको सुरुआतमा प्रतिकित्ता ४७८ रुपैयाँ रहेको कम्पनीको सेयरमूल्य वर्षको अन्तिम दिन आइपुग्दा प्रतिकित्ता १३२० रुपैयाँको उचाइमा पुगेको छ।

यो वर्ष सूर्या लाइफका लगानीकर्ताले पनि १२९।२३ प्रतिशतका दरले कमाएका छन्। वर्षको सुरुआतमा प्रतिकित्ता ३६६ रुपैयाँ रहेको यो कम्पनीको सेयरभाउ वर्षको अन्तिम दिन प्रतिकित्ता ८३९ रुपैयाँ कायम भयो।
यसैगरी नेपाल लाइफको सेयरभाउ पनि १०६।४५ प्रतिशतले बढेको छ। यो कम्पनीको मूल्य १ हजार २३ रुपैयाँबाट बढेर २ हजार १२ रुपैयाँ पुगेको छ।

गत वर्षमात्रै आईपीओ निष्कासन गरेको रिलायन्स लाइफको सेयरमूल्य पनि ११४।१२ प्रतिशतले बढेको छ। प्रतिकित्ता ३४० रुपैयाँमा कारोबार खुलेको यो कम्पनीको सेयरमूल्य ७२८ रुपैयाँ पुगेको छ। यस्तै नेसनल लाइफको सेयरमूल्य ११२।५२ प्रतिशत, लाइफ इन्स्योरेनस कर्पोरेसनको ११२।३७ प्रतिशत, गुराँस लाइफको ९६।९३ प्रतिशत, प्राइम लाइफको ७५।७० प्रतिशत र ज्योति लाइफको ३२।४७ प्रतिशतलले बढेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.