राजनीतिक अन्यौलबीच कस्तो होला सेयर बजारको बाटो ?

राजनीति र सेयर बजार एउटा सिक्काका दुई पाटा हुन्। यिनीहरुबीचको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ। लगानीकर्ताले राजनीति र सेयर बजार दुवै हेर्छन् र हेर्न आवश्यक पनि छ। किनकि देशको नीति निर्माण तथा निर्णय राजनीतिक तह र तप्कामा हुने हुँदा भावी सरकार कस्तो बन्छ, अर्थ मन्त्रालयमा कस्तो व्यक्ति आउलान् र कस्तो नीति लेलान् भन्ने विषय प्रमुख हुन्छ। तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराई र युवराज खतिवडालाई लगानीकर्ताले विश्वास गर्न सकेनन्। फलस्वरुप बजारमा एक किसिमको दबाब रह्यो। भट्टराईको पालामा त बजार निकै तल आयो। खतिवडाको पालामा पनि बजारले खासै गति लिन सकेन। खतिवडाले लगानीकर्ताका लागि आयकर घटाइदिए तर पनि बाघसँग बाख्रा डराएजस्तै अवस्था सेयर बजारमा लामो समय चल्यो। जब अर्थ मन्त्रालयमा नयाँ अर्थमन्त्री विष्णुप्रसाद पौडेल आए बजार एकाएक उकालो लागेर डब्बल हुन थाल्यो।  लगानीकर्ताले भन्न थाले विष्णु भगवान् नै आए। अब सरकार अदलबदल भएमा लगानीकर्ताले मानेका  विष्णु भगवानलाई कुनै पशुपतिनाथले रोक्न सक्ने अवस्था हुन्न। सत्तारुढ पार्टीभित्रको आगो यसरी सल्केको छ कि वार कि पारमा नै मैदानमा उत्रेका छन्। कांग्रेसले सरकारमा जाने निर्णय पुगेको छ भने जसपा अनिर्णयमा नै छ। 

के अब सरकार परिर्वतन होला ? आम लगनिकर्ताको मूल चासो यही हो अहिलेको। यो सरकार कम्युनिस्टकै भए पनि  बजारका बारेमा चुपचाप बसेर मौन समर्थन गरेको तथा खासै बोलेर विवादमा आउन नचाहेको देखिन्छ। त्यसैले धेरै लगानीकर्ताले यो सरकारको निरन्तरता चाहेको बुझिन्छ। 

यथार्थमा लगानीकर्ताले चाहेर सरकार रहले वा नरहने विषय होइन। तर राजनीतिलाई नजिकबाट नियाल्दा तत्काल यो सरकार परिर्वतको सम्भवना छैन। अब यहाँ प्रश्न उठ्ला कसरी ? के आधार छ त्यस्तो ? राजनीतिमा कतिपय विषय बाहिर देखिएजस्तो भित्र हुन्न। अर्थात कांग्रेसले अहिले निर्णय गरे पनि सरकारमा जाने सम्भवना निकै कम छ। पहिलो आधार शेरबहादुर देउवाले रेशम चौधरीलाई उन्मुक्ति दिने गरी सरकारमा जाँदा उनको सुदूरपश्चिमको राजनीति पूरै दाउमा पर्न सक्छ। दोस्रो कांग्रेस सरकारमा जाँदा आगामी जनमतमा धक्का लाग्न सक्छ।  तेस्रो कांग्रेसलाई सरकारमा जानुभन्दा चुनावमा जानु फाइदा छ किनकि अहिले जनमत कम्युनिस्टको विपक्षमा रहेको जस्तो देखिन्छ। त्यसैले कांग्रेस अहिले नै सरकारमा जाने सम्भवना क्षीण छ।

कांग्रेस र जसपा सरकारमा नगएसम्म नयाँ सरकार बन्ने सम्भवना लगभग जिरो नै छ। त्यसैले अबको राजनीति चुनावको माहोलमा अगाडि बढ्ने सम्भवना छ। 

लगानीकर्ताले सोच्नुपर्ने के छ भने  चुनाव भइहालेमा कस्तो असर पर्छ यो मूल प्रश्न हुन सक्छ। राजनीति र सेयर बजार दुवै सम्भावनामा चल्ने विषय हुन्। सिक्का कुन पाटोमा पल्टिन्छ ठोकेरै भन्न त मुस्किल छ। जे भए पनि सेयर बजार सरकार अदलबदल भए पनि ठूलो असर पर्ने देखिन्न। 

फेरि प्रश्न उठ्ला के आधार छ त्यस्तो ? पहिलो आधार अब देश ढिलोचाँडो चुनावमै जाने हो। चुनावमा जनमत चाहिन्छ। कथमकदाचित नयाँ सरकार बने पनि जनमत चिड्याउनेभन्दा लोकप्रिय काममा लाग्नेछन्। किनकि सेयर बजारमा अहिले ठूलो संख्यमा ४० लाखभन्दा बढी लगानीकर्ताको सहभागित छ। कसैले पनि आफ्नो सेयरको मूल्य घटोस् भन्ने चाहन्न। जनमतका लागि नै भए पनि अब बन्ने सरकारले अलोकप्रिय कदममा अगाडि बढ्न सक्दैन। 

पछिल्लो राजनीतिक अवस्थालाई नजरअन्दाज गर्ने हो भने जसपा र कांग्रेस दुवैले आआफ्नो नेतृत्वमा सरकारको दाबी गरिरहँदा कसैको पनि सरकार नबन्ने र अन्तमा केपी शर्मा ओलीले चाहे जस्तै संसद् पुनः विघटनको खतरा बढ्दै गएको राजनीतिक पण्डितहरुले अनुमान गर्न थालेका छन्। यही कारणले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको उनीहरुको भनाइ छ। 

सरकार निर्माण प्रक्रियामा यदि चौथो चरणसम्म पुगेर संसद् विघटन भएमा त्यो अदालतले सदर पनि गर्न सक्छ। किनकि कुनै पनि सरकार बन्न नसकेको अवस्थामा संसद् विघटन हुने यो संविधानको परिकल्पना हो। नेपालको राजनीति त्यो अवस्थातिर जान थालेको पनि देखिन्छ। यदि निर्वाचन हुन गए बजारबाट पैसा कति बाहिरिन्छ अथवा भित्रिन्छ त्यो भने खोजको विषय हुन सक्ला।

अबको बजारको बाटो कस्तो होला ?

सेयर बजार बुलिस प्रवृत्तिमै रहेकोले तत्काल ठूलो करेक्सनको सम्भवना कमै छ। तर, बजार सधैँ बढिराख्ने भने होइन। राजनीतिक अस्थिरतासँगै बजार तलमाथि त भई नै हाल्छ। 

सस्तो ब्याजदरको पुनरकर्जाको पैसा बजारमा गएको तथा सरकारको पुँजीगत खर्च बढी राखेकोले बजारमा तरलताको अवस्था सहज नै हुने देखिन्छ। जबसम्म बजारमा तरलताको अवस्था सहज रहन्छ राजनीतिक अवस्थाले बजार तलमाथि गर्ने केही दिनमात्रै हो। 

राजनीतिको प्रभाव सेयर बजारमा क्षणिकमात्रै हुन्छ। लगानीकर्ताले सेयर बजारमा आफ्नो विवेक अप्ठ्यारो अवस्थामा नै प्रयोग गर्नै हो। सेयर बजारका बादशाह वारेन बफेट भन्छन्, ‘सेयर बजारमा लागेर मैले जीवनमा कहिलै पनि आफूमाथि शंका गरिनँ र हरेस पनि खाइनँ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.