रासायनिक मल समयमै उपलब्ध गराउन कृषि मन्त्रीको ध्यानाकर्षण

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र वडा नं. २ का वडाध्यक्ष टोलीले रासायनिक मल सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । सांसद सुवाल नेतृत्वको टोलीले कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालसँग भेट गरी रासायनिक मल सहज रुपमा उपलब्ध गराउन माग गरेको हो ।
सो अवसरमा मन्त्री भुषालले यस वर्ष काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा मकै खेती विगतको तुलनामा बढी जगामा लगाउने भएको उल्लेख गर्दै नेपालको नीतिगत व्यवस्था अनुसार धान बाली र गहुँ बालीलाई लक्षित गरी मल खरिद गरिने गरेको बताए । उनले रासायनिक मलको प्रयोग कृषिमा मात्र नभइ अन्य विभिन्न काममा समेत प्रयोग हुने गरेको पाइएकाले सहकारी र अन्य माध्यमबाट यसको भण्डारण, चोरी गरी बिक्री हुने गरेकाले यसको नियमन र कालाबजारी नियन्त्रणको लागि सफ्टवेयरको व्यवस्था गरिएको जानकारी दिए ।
सांसद सुवालले रासायनिक मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनीमा समेत ध्यानाकर्षण गराएको जानकारी दिँदै कृषि विकास मन्त्रालयले जिल्लागत मलको कोटा तोकेर मल पठाउनु उचित नभएको बताए । उनले स्थानीय आवश्यकता अनुसार मलको व्यवस्था हुनु पर्नेमा जोड दिए । यस वर्ष कोभिड–१९ का कारण भक्तपुर जिल्लामा रहेका ७५ वटा इट्टा भट्टाहरु सञ्चालन नहुने हुँदा विगतको तुलनामा थप ४० हजार रोपनीे जग्गामा गहुँ छर्ने र आलु रोप्न किसानलाई आवश्यक मलको व्यवस्था गर्नु पर्ने उनले बताए । मन्त्रालयले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन लक्ष्य बनाई मलको समस्या समाधान गर्नेतर्फ ध्यान दिइरहेको मन्त्री भुषालले जानकारी दिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.