लागत मूल्य पनि नपाएको भन्दै किसानले सडकमै पोखे दुध

चितवनमा दूधको मूल्य घटाएको भन्दै किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्। उनीहरुले पूर्वपश्चिम राजमार्गको भण्डारामा दूध पोखेर विरोध गरेका हुन्। दुःख गरेर उत्पादन गरेको दूधको मूल्य लागत जति पनि नपर्ने भएपछि आक्रोसित राप्ती नगरपालिकाका किसानले सडकमै दुध पोखेका हुन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले असार १५ गतेबाट दूधको मूल्यमा एक लिटरमा तीन रुपैयाँँ घटाएको छ।

जेठ १६ गतेबाट निजी डेरी उद्योगले एक लिटरमा २ रुपैयाँ ३७ पैसा मूल्य घटाएका थिए। डिडिसीले दूधको मूल्य घटाएपछि निजी डेरी उद्योगले अर्को पटक साउन १ गतेदेखि मूल्य घटाएका थिए। किसानले पाइरहेको मूल्य घटाउँदा दाना, चोकर, औषधिलगायत पशुपालनका लागि आवश्यक सामग्रीको मूल्य नघटेको किसान सुधीर गौतमले बताए।

सामान्यता किसानले एक लिटर दूध उत्पादन गर्दा करिब ५५ रुपैयाँ प्रतिलिटर लागत पर्छ। अहिले लागतको तुलनामा ज्यादै कम मूल्यमात्र किसानले पाइरहेको परेवाश्वरी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामेश्वर सिंह बताउँछन्। किसानले १ लिटर दूध ४५ रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आएको उनले बताए। चितवनमा दैनिक करिब ४ लाख ७० हजार लिटर दूध उत्पादन हुन्छ। राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक डिल्लीप्रसाद थपलियाले दूधको मूल्य घटाएर मिल्ड होलिडे गर्न लागिएको बताए।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.