विकल्प दिए सम्मानजनक बिदाइका लागि तयार छु : कार्यकारी निर्देशक शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उचित विकल्प दिए सम्मानजनक रुपमा बिदा हुन तयार रहेको बताएका छन् ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले शाक्यलाई राजीनामा दिन आग्रह गरेपछि बुधबार पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै उनले सरकारले दोष नदेखाई र सम्मानजनक रुपमा नयाँ जिम्मेवारी दिएमा त्यसलाई स्वीकार्ने बताए । उनले उचित विकल्प के के हुन् भनेर भने स्पष्ट पारेनन् ।

‘म कार्यकारी निर्देशक नियुक्त भएपछि कोरोना महामारीको प्रतिकूल अवस्थाका बाबजूद पनि धेरै काम गरेको छु,’ उनले भने, ‘विकल्प नदिई बिदा गर्न खोजेमा न्याय माग्न जान्छु ।’


कोभिड–१९ महामारीका कारण फिल्डमा खटिन नपाउँदा चुहावट बढेको उल्लेख गर्दै उनले नाफा घट्नुमा भने डेडिकेटेड फिडरको महशुल खारेजी र स्वदेशभित्रको कम उत्पादनलाई मुख्य कारण रहेको बताए । प्राधिकरण र उद्योगबीच विवाद देखिँदा डेडीकेटेड र ट्रंक लाइनको वक्यौता १५ अर्ब नाघेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, डेडीकेटेड र ट्रंक लाइनमा रहेको दोब्बर विद्युत महशुल हटाउँदा साढे तीन अर्ब र चुहावट बढ्दा साढे एक अर्ब आम्दानी घटेको छ । प्राधिकरणले सरकारले दिँदै आएको विभिन्न छुटको कारण समेत करिब तीन अर्ब आम्दानी घटेको दाबी गर्दै आएको छ । छलफलमा कार्यकारी निर्देशक शाक्यले आफूले लिएको जिम्मेवारी अनुसारको काम गर्नमा कुनै कसर बाँकी नराखेको तथा कोभिडको कारण सबै लक्ष्य पूरा गर्न कठिन भएपनि धेरै प्रगति भएको दाबी गरे ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.