समर्थन मूल्यमा धान खरिद

धनगढी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीको दुई स्थानबाट धान खरिद गर्न थालेको छ । जिल्लाको चार स्थानबाट खरिद गर्ने योजना रहेपनि भण्डार नभएकाले बाँकी दुई ठाउँबाट खरिद गर्न नसकिएको कम्पनीले जनाएको छ । कम्पनीले कात्तिक १७ गतेबाट मोहनपुर र टीकापुरमा काँटा राखेर धान खरिद गर्दै छ ।
कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख अनिल श्रेष्ठले भजनी र जोशीपुरमा समेत काँटा राख्नु पर्ने भएपनि भण्डार नहुँदा राख्न नसकिएको बताए । उनले धनगढी र टीकापुरमा आफ्नै भण्डार रहेकाले खरिद गरी भण्डारण गर्न समस्या नभएको बताए ।
उनले समयमै भण्डारणका लागि गोदामको व्यवस्था भएमा धान खरिद गर्न जोशीपुर र भजनीमा समेत काँटा राकिने बताए । उनले बाँकी ठाउँमा काँटा राख्न अझै केही दिन लाग्ने जनाए । “भाडामा गोदाम लिनुपर्ने छ,” उनले भने, “गोदाम मिल्यो भने हामीले तुरुन्तै काँटा राखेर धान खरिद गर्छौं ।” उनले हरेक वर्ष गोदाम अभावमा धान खरिद गर्ने काम प्रभावित हुने गरेको बताउँदै सरकारले सो क्षेत्रमा समेत कम्पनीको गोदाम बनाइदिनु पर्ने बताए ।
कम्पनीले कैलालीमा सरकारले तोकेको समर्थन मूल्य दुई हजार सात सय ३५ रुपैयाँमा ६ हजार ५ सय मेट्रिक टन मोटो धान खरिद गर्ने प्रमुख श्रेष्ठले जनाए । कम्पनीले गतवर्ष पाँच हजार मेट्रिक टन धान खरिद गरेको थियो । अधिकांश किसानले धान बेचिसकेपछि काँटा राख्न थालेको कम्पनीले किसानले धान अझै नबेचेको दावी गर्दै सोझै किसानहरुबाट कम्पनीले धान खरिद गर्ने दावी गरेको छ । तर कम्पनीले काँटा राख्ने क्षेत्रका किसानले कम्पनीले समयमै काँटा नराख्दा व्यापारीहरुलाई दुई हजार रुपैयाँको आसपासमा धान बिक्री गर्नु परेको जनाएका छन् ।
धानको मूल्य बढेकाले आउने वर्ष चामलको मूल्य समेत बढ्ने कम्पनीका प्रमुख श्रेष्ठले जनाए । उनले यस वर्षको मुख्यमा खरिद गरिएको धानको चामलमा लागत मूल्य चार हजार पाँच सय पर्न जाने बताए । उनले कैलाली र कञ्चनपुरमा खरिद गरिएको धानको चामल सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी जिल्लामा खपत हुने गरेको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.