साइकल पार्किङमा समेत कर

वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षमा विभिन्न किसिमका कर लगाउने भएको छ। चालु आर्थिक वर्षका लागि महानगरले आर्थिक विधयेकमार्फत साइकल पार्किङमा समेत कर लगाउने भएको हो।
वीरगंज। महानगरपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन २०७५ कार्यान्वयन गर्दै महानगरपालिकाले विभिन्न कर लगाउन लागेको हो।
महानगरपालिकाले साइकलमा पनि कर लगाएको छ। एक दिन महानगर क्षेत्रमा साइकल पार्किङ गर्दा अब ५ रुपैयाँ कर तिर्नुपर्छ। घण्टाघरस्थित सार्वजनिक शौचालयमा पिसाब फेरेको ५ र दिसा गरेको १० रुपैया तिर्नुपर्ने व्यवस्था गरिएको छ।
महानगरपालिकाले जग्गाको मूल्याकंन पनि गरेको छ। यसअनुसार महानगरिभत्र २० लाख देखि ८ करोड रुपैयाँसम्म प्रतिकट्ठा तोकिएको छ। साविक वीरगंज बजार क्षेत्रका जग्गाको मूल्यांकन महँगो राखिएको छ भने पछि थपिएका ११ वटा वडामा मूल्यांकन २० लाखदेखि ३० लाख रुपैयाँको हाराहारीमा छन्।
महानगरपालिकाले साना उद्योगलाई वार्षिक ५ हजार र बहुराष्ट्रिय कम्पनीलाई २ लाख रुपैयाँसम्म लगाउने गरी आर्थिक ऐन तयार गरेको छ। सिनेमा हल, होटल व्यवसाय, जडिबुटी, कबाडी, पशुजन्य समान निकासीमा पनि कर वृद्धि गरिएको छ।
वीरगंज नगरसभाले असार २२ गते पास गरेको आर्थिक ऐन २०७५ अनुसार महानगरले कर बढाएको हो। महानगरले असार १० गते नगरसभा सुरु गरेको थियो। महानगरले चालु आर्थिक वर्ष २०७५/०७६ को लागि ४ अर्ब ९७ करोड ८१ लाख रुपैयाँको बजेट ल्याएको छ। त्यसमा ५९ करोड ५३ लाख ६० हजार रुपैयाँ आन्तरिक आयबाट उठाउने लक्ष्य राखेको छ।
महानगरले पार्किङ शुल्क, सवारी साधन प्रवेश, पसल व्यवसाय सञ्चालन, घरेलु तथा साना उद्योग, सवारी दर्ता, घर बहाल कर, व्यवसाय कर ,भूमि कर, सम्पति कर, उद्योग–व्यापार कर, निकासी कर र वातावरण प्रदुषण तथा सडक सुधार कर लगाउने प्रस्ताव गरेको छ।

 यसैगरी इन्धन बिक्री कर, नगर क्षेत्र भित्र गरिने प्रचारप्रसार, सूचना प्रविधि, संस्था दर्ता, सिफरिस, नागरिकता, जन्म दर्ता, विवाह दर्ता, मृत्युदर्तालगायतको सिफरिसमा कर बढाएको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन्

 वीरगंज उद्योग वाणिज्य संघले विज्ञप्ती प्रकाशित गरी महानगरले तोकेको विभिन्न कर तथा दस्तुरको विरोध जनाउँदै करको मापदण्ड तथा दायरा सच्याउन आग्रह गरिसकेको छ। करको दायरा एवं दरमा वृद्धिले सोझै आम उपभोक्तालाई असर गर्ने गरी ल्याइएको व्यवसायी आशोक वैद्य बताउँछन्। शालिमार समूहका निर्देशकसमेत रहेका व्यवसायी वैद्यले कर बढ्दा उपभोक्तालाई त्यसले ठूलो प्रभाव पार्ने बताए।
वीरगंजमा उपभोक्ता हकहित मञ्च र समिति थुप्रै भए पनि महानगरको करको विरोध कसैले गरेका छैनन्। वीरगंज १२ मुर्लीका सन्तोष कुशवाहाले चुनावअघि र चुनावपछि नेताको व्यवहार फेरिएको बताए। उनले पञ्जीकरण सिफारिसमा पनि कर बढाउनु दुखद भएको बताए।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.