सेयर बजारको लगानीकर्ताहरुलाई तर्साउने र हतोत्साही हुने गरी प्रचण्डले के भनेका थिए?

काठमाण्डौ । सेयर बजार आज ८८ अंकले ओरोला लाग्यो। योसँगै बजार २३०० लाइनमा झरेको छ।

मौद्रिक नीतिमा गरिएको कतिपय बजारविरोधी व्यवस्था, तरलतामा परेको निरन्तरको चाप लगायतका कारणले सेयर बजार प्रभावित हुँदै आइरहेको छ। बजार धेरै घटिरहेकोले अब फर्किने आशामा लगानीकर्ताहरु थिए। तर आइतबार बजारमा भीषण पहिरो गयो।

बजारमा यसरी गिरावट आउनुको मुख्य कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को शनिबारको अभिव्यक्तिलाई जोडेर हेरिएको छ। माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाण्डौबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा भएको र यो साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका छन्। ‘एकाधिकार पुँजीवाद र संशोधनवाद जोडिएर वित्तीय एकाधिकार पुँजीवादमा भूमण्डलीकृत पुँजीवाद बन्दै गएको छ’, उनले भने, ‘यसलाई निस्तेज गर्ने गरी पुँजीबजारको विषयमा पार्टीको दस्तावेजमै समावेश गराउने योजना छ।’

पहिलेपहिले पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुने गरेको तर अहिले लगानी पुँजी वा दोस्रो बजारमा हुनु वित्तीय पुँजीवादको विशेषता भएको प्रचण्डले सो क्रममा बताएका छन्। ‘विश्वभर नै पुँजीको लगानी धितोपत्र, सट्टा बजार, आईएमएफ, विश्व बैंक र एसियाली बैंकहरुमा हुने गरेका छन्’, उनले आफ्नो मन्तव्यमा भने, ‘पुँजीको लगानी पुँजीमा हुनु साम्राज्यवादको विकसित रुप हो।’

यसरी वित्तीय एकाधिकार पुँजीवादलाई बलियो बनाएर अगाडि बढाउने नाफा उठाएर विश्वका सीमित पुँजीपतिहरुको हातमा संसारकै धन एकठ्ठा गर्ने योजना रहेको समेत प्रचण्डको भनाइ थियो। ‘८० प्रतिशत जनतालाई भोको र नाङ्गो राख्ने प्रणाली नै पुँजीबजार हो’, उनले भने, ‘त्यसैले पुँजीबजारमा लगानीको विकास र विस्तारलाई हामीले परास्त गर्न सक्नुपर्छ।’

‘बैंकहरुले सीधै घरजग्गा किनबेचमा लगानी लगाउँछन्। घरजग्गाको कारोबारबाट सीधै पैसा आउने गर्दछ। थोरै लगानीमा छोटो समयमा अबौँ कमाउने गरेका छन्’, उनले थपे, ‘अहिले विश्वभर नै सेयर बजारमा लगानी बढ्न थालेको छ। यसको अध्ययन, अनुसन्धान र विश्लेषण गर्नु जरुरी छ।’

उनको अभिव्यक्तिको नकारात्मक प्रभाव यसकारण पनि पूँजीबजारमा पर्यो कि, अहिले देशको अर्थतन्त्र चलाइरहेका अर्थमन्त्री उनका विश्वासपात्र र उनकै पार्टीका नेता जनार्दन शर्मा छन् । पछिल्लो समय बजार घट्नुको दोष अरुमाथि थोपरेर उम्किरहेका अर्थमन्त्री शर्माको पार्टीकै अध्यक्षले सो पार्टीको पूँजीबजारको विषयमा धारणा सार्वजनिक भएपछि यसले लगानीकर्ताको मनोबलमा निकै गम्भीर असर पुर्याएको छ । यसैको प्रतिक्रियास्वरुप आइतबारको बजारमा भीषण पहिरो गएको देखिन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.