सेयर बजारमा उछाल, विश्लेषक भन्छन्–‘करेक्सन सकियो, अब नेप्सेले नयाँ उचाइ चुम्छ’

काठमाण्डौ । सेयर बजारमा आज उछाल आएको छ। 

आज बजार तेहेरो अंकले उकालो लागेको हो। लगातारको गिरावटपछि हिजोबाट सकारात्मक बनेको बजार आज १०४.८८ अंकले बढेको छ। योसँगै नेप्से परिसूचक २८१६.९५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.४७ अंकले बढेर ५२८.१० को विन्दुमा पुगेको छ। कारोबार रकम भने ६ अर्ब रुपैयाँ माथि भएको छ।

नेपाली पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नियामक निकायका साथै अर्थमन्त्री बजारप्रति सकारात्मक रहेको अभिव्यक्ति सार्वजनिक भएकोले लगानीकर्ता उत्साहित हुनुका साथै आज बजार तेहेरो अंकले बढेको बताउँछिन्। ‘विगत केही दिनदेखि हामी अर्थमन्त्री, माओवादी अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफलमा थियौँ। उक्त छलफलकै कारण हिजो अर्थमन्त्रीको बजारप्रति सकारात्मक रहेको अभिव्यक्ति आयो’, उनले भनिन्। 

आज १०० अंक बढीले बजार बढ्दा पनि लगानीकर्ताले आफूसँग भएको सेयर होल्ड गरिरहेको उल्लेख गर्दै पोखरेलले भनिन्, ‘लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा छन्। त्यसैले अब छिटै नेप्से परिसूचक नयाँ उचाइमा देखिन्छ।’ 

नेपाली पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला नेपालको सेयर बजार अहिले हल्लाको भरमा बढ्ने र घट्ने भएको बताउँछन्। ‘११०० को बजार झन्डै ३२०० पुग्दा बजारमा करेक्सन आवश्यक थियो। तर जसरी छोटो समयमै बजार धेरै घट्यो, त्यसले नियामक निकाय र ठूला खेलाडीहरुले सुनियोजित ढंगमा बजार घटाएको बुझिन्छ’, उनले भने, ‘तर नयाँ लगानीकर्ताहरुले अहिले उनीहरूको योजना विफल बनाइदिएका छन्। अब बजारको करेक्सन सकिएसँगै बजार बढ्ने निश्चित छ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ८.५४ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ७.७४ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ३.२८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.१९ प्रतिशत, जलविद्युत समूहमा ५.५७ प्रतिशत, लगानी समूहमा ४.१४ प्रतिशत, जीवन बीमा समूहमा ३.६३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.८ प्रतिशत, लघुवित्त समूहमा ३.३२ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.४५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.६४ प्रतिशत, अन्य समूहमा २.३६ प्रतिशत र व्यापार समूहमा ४.३३ प्रतिशतको बढोत्तरी भएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१७ कम्पनीका १ करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर ६ अर्ब १७ करोड ९३ लाख १५७.६२ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक २३ करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेसनल हाइड्रोको १८ करोड ४८ लाख रुपैयाँबराबरको कारोबार भएको आज एअएमडीसी लघुवित्तको १६ करोड ९९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १५ करोड ४८ लाख रुपैयाँ, अपी पावरको १३ करोड ५३ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको १३ करोड २ लाख रुपैयाँ, सिटिजन्स बैंकको १२ करोड ५६ लाख रुपैयाँ, सानिमा बैंकको १२ करोड १७ लाख रुपैयाँ, ज्योति विकास बैंकको १२ करोड १ लाख रुपैयाँ र नेपाल बैंकको ११ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज कारोबारमा आएका एउटाबाहेक सबै कम्पनीको सेयरभाउ उकालो लागेको छ। एउटा कम्पनीको भने स्थिर रहेको छ। 

यो दिन २० वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। आज प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टीपर्पस फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र लिवर्टी इनर्जीको सेयरमूल्यमा १० प्रतिशत बढीले पोजिटिभ सर्किट लागेको छ।

यसैगरी मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेस्टमेन्ट फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, माउन्टेन हाइड्रो, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स र हिमालय ऊर्जा विकासको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। यो दिन अन्य ५ कम्पनीको सेयरभाउ पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.