हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु

हेटौंडा । करिब डेढ महिनाअघिदेखि बन्द रहेको हेटौँंडा सिमेन्ट उद्योगमा आज बिहीबारदेखि पुनः उत्पादन सुरु भएको छ । करिब ६ हप्ताअघि उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएर समस्या आउँदा क्लिङ्कर उत्पादन गर्ने कार्य बन्द गर्नुपरेको उद्योगको व्यवस्थापनले जनाएको छ ।

उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरण ल्याएर जडान र मर्मतसम्भार गरी आजै बिहानदेखि सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने क्लिङ्कर उत्पादन पुनः सुरु गरिएको हेटौँडा सिमेन्टका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ।

कर्णले करिब चार दशकअघिदेखि सञ्चालनमा रहेको उद्योगमा पटक–पटक प्राविधिक समस्या आएकाले उत्पादन बन्द गर्नुपर्ने बाध्यताले अब सिमेन्ट उत्पादन सञ्चालन गर्न कठिनाइ भोग्नुपर्ने भएको बताए । उनले अब उद्योगलाई नयाँ प्रविधिबाट दीर्घकालीनरूपमा क्षमताअनुसार उत्पादन वृद्धि गर्न उद्योग व्यवस्थापनले प्रधानमन्त्री र उद्योग वाण्ज्यिमन्त्रीलाई ध्यानाकर्षण गराई सरकारको तर्फबाट आर्थिक रकम उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए ।

अहिले उद्योगमा पर्याप्त चुनढुङ्गा र कोइला आपूर्ति भइरहेको उद्योगको उनले बताए । उनका अनुसार सिमेन्ट उद्योगको उत्पादन बन्द रहेको भए पनि भण्डारणमा रहेको सिमेन्टको प्याकिङ र प्याकिङ गरिएको सिमेन्ट काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, भैरवालगायतको शहरहरुमा बिक्री वितरण नियमितरूपमा भइरहेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.