४१ अर्बको खाद्यान्न आयात

मासिक एक खर्बको आयात, निर्यात १० अर्बमै सीमित

पछिल्लो ६ महिनामा मुलुकमा साढे ६ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको आयात हुँदा ६० अर्बको मात्र निर्यात भएको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको साउनदेखि पुस महिनासम्मको तथ्यांकअनुसार मासिक आयात १ खर्बभन्दा बढी छ भने निर्यात १० अर्बमै सीमित भएको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा तथ्यांकले आयातमा सामान्य कमी भए पनि निर्यात भने बढेको देखिन्छ ।
विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म

आयातमा ४.८१ प्रतिशतले घटेर ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख९४ हजार रुपैयाँको आयात भएको छ । अघिल्लो वर्षको तुलनामा अघिल्लो वर्ष सोही अवधिमा ६ खर्ब ९४ अर्ब ६९ करोड ३७ लाख २२ हजार रुपैयाँको आयात भएको थियो । यो वर्ष कोराना भाइरसको कारणले आयातमा सामान्य कमी भएको हो । कोरोना भाइरस महामारीले उद्योगधन्दा बन्द भएकाले निकै प्रभावित भएको आयात निर्यात अहिले भने सामान्य अवस्थामा फर्किन थालेको छ ।


विभागको तथ्यांकअनुसार पुस मसान्तसम्ममा ६.१४ प्रतिशतले निर्यात बढेर ६० अर्ब ७९ करोड ९२ लाख वस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ५७ अर्ब २७ करोड ९७ लाख वस्तु निर्यात भएको थियो । कोरोनाभाइरसको प्रभावले आयातमा सामान्य कमी भए पनि निर्यात भने बढिरहेको छ । चालू आवको मंसिर महिनासम्ममा ५० अर्बको निर्यात भएको थियो । एक महिनाको अवधिमा निर्यात १० अर्बले बढ्न गएको विभागको तथ्यांक छ ।


६ महिनासम्मको अवधिमा वैदेशिक व्यापारघाटा ६ खर्ब ४४ करोड ६१ लाख रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले ६ खर्ब ३७ अर्ब ४१ करोड ३९ लाख वैदेशिक व्यापार घाटा व्यहारेको थियो । जुन गत वर्षको तुलनामा ५.८० प्रतिशत कमे रहेको तथ्यांकमा उल्लेख गरेको छ ।
विभागका अनुसार कुल वैदेशिक व्यापारमा पनि कमीआएको छ । गत आवको पुस मसान्तसम्ममा ७ खर्ब ५१ अर्ब ९७ करोड ३४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । चालू आवको सोही अवधिमा ७ खर्ब २२ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन गत वर्षको तुलनामा ३.९८ प्रतिशतले न्यून हो ।


६ महिनाको अवधिमा सबैभन्दा धेरै ६३ अर्ब ४८ करोड ४८ लाख ९ हजार रुपैयाँ बराबरको आइरन स्टील, ५३ अबको मेसिनरी पार्ट्स आयात भएको छ । यस्तै ४३ अर्ब ७१ करोड ८३ लाख ३२ हजार रुपैयाँको सवारी साधन आयात भएको विभागको तथ्यांक छ । यस्तै खाद्यान्न ४१ अर्ब ७७ करोड ४७ लाख २८ हजार आयात भएको छ । यो वर्ष धानको उत्पादन बढे पनि खाद्यान्न आयात भने कम हुन सकेको छैन । यस्तै, १६ अर्ब ६९ करोड २५ लाख २८ हजार रुपैयाँको चामलमात्र आयात भएको छ । यस्तै, २० अर्ब रुपैयाँको मोवाइल सेट भित्रिएको छ ।

छिमेकी मुलुक भारतसँगै मुलुकको व्यापार धेरै हुने गर्छ । ६ महिनाको अवधिमा छिमेकी मुलुकबाट भारतबाट ४ खर्ब ३८ अर्ब ८२ करोड ९७ लाख ९ हजार रुपैयाँको आयात भएको छ । सो अवधिमामा नेपालबाट ४३ अर्ब ५२ करोड ७० लाख ८२ हजार रुपैयाँको निर्यात भएको छ । दोस्रो छिमेकी मुलुक चीनबाट ९६ अर्ब ३२ करोड ५२ लाख ८३ हजार रुपैयाँको आयात भएकोमा निर्यात भने ५० करोड ७८ लाख ६१ हजार रुपैयाँको भएको विभागको तथ्यांक छ । वस्तु तथा सेवाको आयातवापत ६ महिनाको अवधिमा १ खर्ब ८७ अर्ब ६ करोड ३९ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । आयात सामान्य अवस्थामा आउन थालेपछि राजस्व संकलन बढ्दै गएको विभागको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.