४१ करोड खर्चिएर दुग्ध पाउडर प्लान्ट

बागमती प्रदेश सरकारले ४१ करोड रुपैयाँ खर्चिएर हेटौंडामा दुग्ध पाउडर प्लान्ट निर्माण सुरु गरेको छ । पाउडर प्लान्ट निर्माण भएसँगै बागमती प्रदेशसहित अन्य प्रदेशका दुग्ध किसानले उत्पादन गरेका दूधको सहज बजारीकरण हुने विश्वास लिइएको छ ।
उत्पादित दूध नबिकेर ‘मिल्क होलीडे’ गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट निर्माण गर्न लागिएको जनाइएको छ । पुस १ गते ठेक्का सम्झौता गरिएको प्लान्टको बिहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका हुन् । हेटौंडा–१० स्थित सिसौघारीमा एक वर्षभित्र सम्पन्न गर्नेगरी इजी इन्फ्राप्रालिसँग ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हो ।
पाउडर प्लान्ट दैनिक ६० हजार लिटर दूध खपत गर्नसक्ने क्षमताको हुनेछ । नियमित रुपमा सञ्चालनमा आएमा प्लान्टबाट प्रतिदिन ५ मेट्रिक टन र प्रतिवर्ष एक हजार पाँच सय टन धुलो दूध उत्पादन हुने अनुमान गरिएको प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. शरणकुमार पाण्डेले जानकारी दिए । प्लान्टबाट बटरसमेत उत्पादन गरिने डा. पाण्डेले बताए । उनका अनुसार प्लान्टमा ५० जनाले प्रत्यक्ष र करिब २ हजार जनाले अप्रत्यक्ष रोजगारी पाउनेछन् । बागमती प्रदेश, प्रदेश–२ र अन्य प्रदेशका जिल्लाहरुबाट समेत दूध ल्याएर पाउडर उत्पादन गर्ने योजना बनाइएको छ ।
प्लान्टको शिलान्यास कार्यक्रममा बोल्दै बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलले अब किसानले उत्पादन गरेको दूध नबिकेर सडकमा पोख्नुपर्ने बाध्यता हटेर जाने विश्वास व्यक्त गरे । किसानको समस्यालाई मध्यनजर गर्दै प्रदेश सरकारले दुग्ध पाउडर प्लान्ट स्थापना गर्न लागेको भन्दै पौडेलले प्रदेश सरकार सधैं किसानको पक्षमा रहेको बताए । किसानकै हितको लागि हेटौंडा ११ थानाभ-याङमा बृहत कृषि सुपर मार्केटसमेत निर्माण गर्न लागिएको पौडेलले जानकारी दिए । तरकारी र दूधको उत्पादन तथा बजारीकरणमा प्रदेश सरकारले विशेष ध्यान दिई कार्यक्रमहरु ल्याइरहेको उनको भनाइ थियो ।
कार्यक्रममा बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले प्लान्ट स्थापना भएपछि किसानले उत्पादन गरेको दूधको बजारीकरणमा समस्या नहुने दावी गरे । प्लान्टबाट बागमती प्रदेशसहित अन्य चार वटा प्रदेशका किसानलेसमेत लाभ लिनसक्ने उनले बताए । “उद्योग स्थापना भएसँगै रोजगारीको समेत सिर्जना हुन्छ । किसानलाई धेरै गाई, भैंसी पाल्नसमेत उत्प्रेरणा बढ्छ । प्रदेशको विकास र समृद्धि यसैगरी हुने हो ।” मन्त्री लामाले भने ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले अब मिल्क होलीडे नहुने विश्वास व्यक्त गरे । देशभरमा साढे चार लाख परिवार दूध उत्पादनमा लागेको जानकारी दिँदै देवकोटाले दैनिक ९ लाख लिटर दूध सहकारीमार्फत संकलन गरी दैनिक साढे ९ करोड रुपैयाँ किसानको हातमा पुगेको बताए । निजी क्षेत्र र सहकारीहरुले समेत सेयर लिनसक्ने गरी पाउडर प्लान्ट निर्माण गर्न लागिएको भन्दै उनले यसमा सबैको अपनत्व हुने बताए । ठेकेदार कम्पनीका प्रतिनिधि उत्तम पौडेलले एक वर्षभित्र दुग्ध पाउडर प्लान निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने प्रतिवद्धता जनाए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.