नेपाल राष्ट्र बैंकले सुनचाँदी धितो राखेर लिने कर्जाको सिमा ५० लाख कायम गरेको छ ।
राष्ट्र बैंकले “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन, परिमार्जन थप गरी यस्तो व्यवस्था गरेको हो ।
‘सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरिएको छ’ निर्देशनमा भनिएको छ, ‘यस अघि प्रवाह भएको कर्जाको हकमा २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्नेछ ।’
कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ ।
कथंकदाचित कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्नेछ ।