मुक्तिनाथमा २० घण्टा आवतजावतमा रोक, मोदीलाई स्वागत गर्न ६०० मिटर लामो कार्पेट

मुस्ताङ, मुक्तिनाथ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई दृष्टिगत गरी यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि शनिबार बिहान मुस्ताङ आउने कार्यक्रम छ । भ्रमणलाई व्यवस्थित बनाउन स्थानीय प्रशासनले विशेष सुरक्षा योजना बनाएको छ । भारतीय सुरक्षाकर्मीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको स्थलगत अनुगमन गरेको छ ।

जिल्लाको सुरक्षा प्रबन्ध मजबुत बनाइएको छ, प्रमुख जिल्ला अधिकारी शिशिरराज पौडेलले भन्नुभयो, “जिल्ला प्रवेश गर्ने र बाहिरने सबै नाकामा सुरक्षा चेकजाँचमा कडाइ गरिएको छ ।”

जिल्ला सुरक्षा समितिको बैठकले भारतीय प्रधानमन्त्री मोदीको भ्रमण सुरक्षाका लागि मुक्तिनाथ मन्दिर परिसरमा २० घण्टा आवातजावतमा रोक लगाउने निर्णय गरेको छ । शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार मध्याह्न १२ बजेसम्म मुक्तिनाथ मन्दिर परिसरमा आवातजावत बन्द गरिएको हो ।

“मन्दिरदेखि ८०० मिटर आसपासको क्षेत्रमा मात्र आवातजावत रोक लगाइएको छ,” प्रजिअ पौडेलले भन्नुभयो । मनाङ हुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने र मुक्तिनाथ हुँदै मनाङ निस्कने पर्यटकलाई वैकल्पिक पदमार्गको व्यवस्था मिलाइएको छ । मुस्ताङका अन्य गन्त्व्यमा हुने पर्यटकीय गतिविधिलाई भ्रमणले कुनै असर नगर्ने प्रजिअ पौडेलले बताउनुभयो ।

विशिष्ठ विदेशी पाहुनाको भ्रमणलाई सुरक्षित र व्यवस्थित बनाउन सुरक्षा निकायका उच्च अधिकारी पनि मुक्तिनाथ आइपुगेका छन् ।

नेपाल प्रहरीको प्रदेश कार्यालय पोखराबाट प्रहरी उपरीक्षक वीरेन्द्र बस्याल, प्रहरी नायब निरीक्षक श्यामकुमार महतोलगायत सुरक्षा अधिकारी मुस्ताङमा खटिएका छन् । गत आइतबार रक्षामन्त्री ईश्वर पोखरेलले पनि मुस्ताङको भ्रमण गरी सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो ।

मुक्तिनाथ मन्दिर परिसरमा तीन तहको सुरक्षा प्रबन्ध मिलाइएको प्रजिअ पौडेलले बताउनुभयो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना मोदीको सुरक्षार्थ खटिने उहाँको भनाइ छ । नेपाली सेना र भारतीय सुरक्षाकर्मीको समन्वयमा विशेष सुरक्षा (क्लोज प्रोटेक्सन) को व्यवस्था मिलाइएको छ ।

मुस्ताङ छिर्ने कोरला, थोरङ्लापास र घासा नाकासहित जिल्लाका १५ वटै सुरक्षा जाँच केन्द्रमा कडाइ गरिएको प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताउनुभयो । सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाउन सबै उपाय अवलम्बन गरिएको उहाँको भनाइ छ । भारतीय सुरक्षाकर्मी र सरकारी अधिकारीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको निगरानी बढाएका छन् । बिहीबार प्राविधिक टोलीसहित बन्दोबस्तीका सामान बोकेको हेलिकप्टर तीनपटक जोमसोम विमानस्थलमा अवतरण गरेको छ ।

भारतीय प्रम मोदी आउने हेलिकप्टर अवतरणका लागि मुक्तिनाथ मन्दिर परिसरमा पाँच वटा हेलिप्याड बनाइएको छ । हेलिप्याडबाट मन्दिर पुग्न गाउँपालिका कार्यालयले ६ सय मिटर लामो रातो कार्पेट विछाउने तयारी गरेको छ । हेलिप्याडदेखि मन्दिरको मूल ढोकासम्म ६ वटा स्वागतद्वार बनाउँदै छ । मन्दिरकै आडैमा विश्रामस्थलका रुपमा विशिष्ठ अतिथि कक्षसमेत तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले बताउनुभयो ।
नेपालस्थित भारतीय दूतावास र सञ्चार माध्यमका प्रतिनिधि पनि मुस्ताङ आउने क्रम बढेको छ । शुक्रबार बिहान ७ बजे भारतीय प्रम मोदी सवार हेलिकप्टर मुक्तिनाथ अवतरण गर्ने जनाइएको छ । मन्दिरमा विशेष पूजाआजापश्चात भारतीय प्रम मोदी मुक्तिनाथबाट सिधै काठमाडौँ फर्कने कार्यक्रम छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.