जुरे पहिरो, विनासकारी भूकम्प र भोटकोसी बाढीबाट लगातार क्षति बेहोर्दै आएको ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजना सञ्चालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ।
सन् २०१९ भित्र सञ्चालनमा ल्याउने गरी क्षतिग्रस्त आयोजना मर्मत थालिएको हो। निजी क्षेत्रको सबैभन्दा ठूलो यो आयोजना ६ महिनादेखि पुनर्निर्माण भइरहेको छ। भोटेकोसी पावर कम्पनीले १७ वर्षअघि सिन्धुपाल्चोकको फूल्पिङकट्टीमा यो आयोजना सञ्चलनमा ल्याएको थियो। पछिल्लो समय दुई वर्षअघि आएको भाटेकोसी बाढीले क्षत विक्षत आयोजना गएको माघदेखि पुनर्निर्माण थालिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिक्रमरत्न स्थापितले बताए।
‘फास्ट ट्रयाक’ मार्फत आयोजना मर्मत भइरहेको छ,’ उनले नागरिकसँग भने, ‘छोटो विधि अपनाउँदा पनि मर्मत सकेर आयोजना सञ्चालनमा ल्याउन डेढ वर्ष लाग्ने देखियो।’ उनका अनुसार सिनो हाइड्रोले आयोजना मर्मत गरिरहेको छ। टेन्डर प्रक्रियामार्फत सिनोले ५ अर्व रुपैयाँ ठेक्कामा मर्मत जिम्मेवारी पाएको हो। तर ठेक्का बाहेक अन्य संरचना निर्माणको समेत काम गर्नुपर्ने भएकाले पुनर्निर्माण लागत बढेर झण्डै ७ अर्व रुपैयाँ पुग्ने कार्यकारी अधिकृत स्थापित बताउँछन्।
‘क्षति धेरै भएकाले मर्मतमै नयाँ आयोजना बनाएर सरह लगानी गर्नुपर्ने देखियो,’ उनले भने। २०७३ असार २१ गते तिब्बती क्षेत्रमा ताल फुटेर भोटेकोसीमा अकस्मात आएको बाढीले आयोजनाका मुख्य संरचना ड्याम र उत्पादन गृहमै व्यापक क्षति पुर्याएका थियो। क्षतिग्रस्त मुख्य संरचनानै पुनर्निर्माण गर्नुपर्दा लगानी नयाँ बनाए सरह हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार आयोजना क्षतिग्रस्त हुँदा कुल सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत नोक्सानी ब्यहोर्नु परेको छ। बाढी अघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झण्डै १० अर्व रुपैयाँ) थियो।
भोटेकोसी बाढीले तातोपानीको १० किलोस्थित आयोजनाको बाँध पुरिदिएको थियो भने त्यहाँ ठूलो परिमाणमा ग्रेगर र ठूल्ठुला ढुंगा थुप्र्रिँदा बाँध फुट्नुका साथै हेडवक्र्सनै क्षतिग्रस्त बनेको थियो। बाढीले बाँधको एउटा भाग खोतलेर बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाउँदै पावर हाउसको इलेक्ट्रो मेकानिकल संरचनामा क्षति पुर्याएको थियो।
आयोजना मर्मतको जिम्मेवारी पाएको सिनोले अहिले बाँध क्षेत्रबाट काम सुरु गरेको छ। ‘हेडवक्र्समा काम गर्न भोटेकोसी नदीलाई कफर्ड ड्याम प्रविधिद्धारा थुनेर अर्को ठाउँबाट निकास पठाइएको छ,’ कार्यकारी अधिकृत स्थापितले जनाए। बाढीबाट ३.३ किमी सुरुङ संरचना भने जोगिएको थियो। आयोजनाको सिभिलभन्दा इलेक्ट्रो मेकानिकल संरचनामा बढी क्षति पुगेकाले मर्मतमा समय र लगानी बढी लाग्ने उनी बताउँछन्।
‘मर्मतमा त छँदैछ, क्षतिग्रस्त संरचना भत्काएर नयाँ बनाउनु पर्दा लागत थपिने देखियो,’ उनले भने, ‘आयोजना भत्काउँदा र बनाउँदाको दोहोरो लगानी मारमा पर्यो।’ अमेरिकी लगानीमा जिल्लाको तातोपानी र झीर्पुमा सन् २००१ देखि सञ्चालित यो आयोजना पटक–पटक प्राकृतिक प्रकोपको मारमा पर्दै आएको छ।
२०७२ वैशाख १२ को भूकम्पले आयोजनामा ठूलो क्षति पुर्याएको थियो। कम्पनीका अनुसार २५ मिलियन अमेरिकी डलरमा आयोजना मर्मत ८० प्रतिशत सकिँदा फेरि बाढी आयो। भूकम्पबाट क्षतिग्रस्त आयोजनाका दुईमध्ये एक जेनेरेटरको परीक्षण सफल भइ अर्कोलाई हिटिङ दिने काम भइरहँदा बाढीले सबै काम व्यर्थ बनाउँदै भूकम्प अघिकोभन्दा ठूलो क्षति पुर्यायो।
यसअघि २०७१ साउन १७ को जुरे पहिरोले ट्रान्समिसन लाइन बगाउँदा आयोजनाको उत्पादन ६ महिना रोकिएको थियो। मर्मतपछि आयोजना उत्पादनमा गएको चार महिना बित्न नपाउँदै भूकम्प गएको थियो। भूकम्पपछि आयोजनाको उत्पादन बन्द हुँदै आएको छ। आयोजनाले विद्युत बेचेर वार्षिक २२–२४ मिडियन अमेरिकी डलर शुल्क अशुल्थ्यो। उक्त शुल्क आयोजनाले घाटा व्यहोर्दै आएको छ।
बाढीले पेनस्टक पाइप तथा उत्पादन गृहको टर्वाइन र जेनेरेटरमै क्षति पुर्याएको थियो। टर्वाइन र जेनेरेटर भने ‘रिकोभरी’ गर्न सकिने कम्पनीको विश्वास छ। यसो हुन नसके आयोजना मर्मत लागत अझै बढ्ने कम्पनीका अधिकारी बताउँछन्। सुरुका १० वर्ष ३६ मेगावाट विद्युत उत्पादन गर्दै आएको आयोजना सन् २०११ मा विद्युत खरिद सम्झौता (पिपिए) पछि ४५ मेगावाट क्षमतामा गएको थियो। आयोजना उत्पादित उक्त क्षमताको विद्युतबाट सिन्धुपाल्चोक जत्रा पाँच जिल्ला झिलिमिली पार्ने सामथ्र्य राख्थ्यो।