अपी पावर कम्पनीले आफ्नो सहायक कम्पनी अपी चमेलिया पावर लिमिटेड मार्फत नयाँ आयाजनाको रुपमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य आगामी आर्थिक वर्षबाट सुरु गर्ने भएको छ ।
यो आयोजना कम्पनीले निर्माण गरेको तेस्रो आयोजना हो । यस भन्दा पहिले सोही क्षेत्रमा कम्पनीले ८.५ मे.वा. क्षमताको नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत २ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय प्रणाली विद्युत प्रवाह गर्दै आएको छ ।
साथै आगमी चैत मसान्तभित्र ८ मे.वा. क्षमताको माथिल्लो नौगाड साना जलविद्युत आयोजना निर्माण सम्पन्न हुँदैछ । सो आयोजनाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना नेपाल सरकार नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया बलाच १३२ के.भि.ट्रान्समिसन लाइनमा जडान गर्नेछ । यो आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुने जनाएको छ ।
उत्पादित विद्युतमध्ये ३० प्रतिशत हिउँदाका दिनमा र बाँकी ७० प्रतिशत वर्षात महिनामा उत्पादन हुनेछ । यो आयोजना नेपाल विद्युत प्राधिकरणको ३० मे.वा. क्षमताको चमेलिया जलविद्युत आयोजना भन्दा १८ किलोमिटर माथी रहेको छ । अपि हिमाल गाउँपालिकाको ओखल भन्ने ठाउँमा यस आयोजनाको बाँध बनाई ५.५ किलोमिटर लामो ३ मिटरको पेनिस्टक पाइपको सहायाताले चमेलिया नदिको पानी फर्काई यो आयोजना निर्माण गर्नेछ ।
(आयोजनाको बाँध निर्माण स्थल) यो आयोजना निर्माणको लागी जम्मा ७४० करोड लगानी लाग्ने अनुमान छ । यसको ३० प्रतिशतले हुने २२२ करोड शेयरधनीको लगानी र बाँकी ५१८ करोड बैंक तथा वित्तिय संस्थाहरुबाट सह वित्तियकरण मार्फत ऋण लगानी गर्ने जनाएको छ ।
यो आयोजनाको निर्माण कार्य २०७६ मंसिर देखि सुरु गरी ३६ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।