प्रमाणीकरण भएन नागरिकता विधेयक, राष्ट्रपतिबाटै संविधानको उल्लंघन

Image
The President of Nepal, Ms. Bidya Devi Bhandari meeting the President, Shri Pranab Mukherjee, at Rashtrapati Bhavan, in New Delhi on April 18, 2017.

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता(पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निस्क्रिय बनेको छ ।

दोस्रो पटक संसदबाट पारित भएर २० भदौमा शितलनिवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । तर, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिले पाएको समयसीमा मंगलबार मध्यरातिबाट सकिएको हो ।

संविधानको धारा ११३ को उपधारा ९४० मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनःविचार गरी त्यस्तो विधेयक प्रस्तुतरुपमा वा संशोधनसहित पारित गरी पुनःपेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयन नगरेर राष्ट्रपतिले संविधानको उल्लंघन गरेकी छन् ।

यसअघि १५ साउनमा पहिलो पटक संसदको दुवै सदनबाट पारित भएर पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै २९ साउनमा संसदमै फिर्ता पठाएकी थिइन् । उनले १५ बुँदे सन्देश समेत पठाएकी थिइन् ।

तर, संसदले विधेयक जस्ताको त्यस्तै फेरि पारित गरेर प्रमाणीकरणका लागि पठाएको थियो । प्रतिनिधिसभाको कार्यकाल पनि १ असोजबाट सकिसकेको छ ।