दसैंलाई भित्रियो २३ लाख बुक तास, आयात २३८ प्रतिशतले वृद्धि, सरकारलाई ४ करोड राजस्व

Image

पोहोरको पहिलो २ महिनाको तुलनामा यसपालि सोही अवधिमा आयात घट्यो। आयातमा प्रतिबन्ध लगाइएका बेलाभन्दा पनि कम सामान भित्रिएर राजस्वमा संकुचन आउँदा सरकारको टाउको दुखिरहेको छ।

धेरैजसो सामानको आयात घटेपनि तासको आयात भने उल्लेख्य बढेको छ। भन्सार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार यसपालि साउन र भदौमा गरी ६ करोड ४४ लाख रुपैयाँ बराबरको तास आयात भएको हो।

दसैंको समयमा तास खेल्ने चलन छ। कतिपयले रमाइलोका लागि परिवारका सदस्यबीच मात्र खेल्छन् भने कतिपयले पैसाको लेनदेन गर्ने गरी खेल्छन्। तर तास देशभित्र उत्पादन हुँदैन। आसन्न दसैंलाई लक्षित गरी दुई महिनामा २२ लाख ९७ हजार बुक तास आयात भएको छ। यो संख्या गत वर्षको साउन र भदौको तुलनामा २ सय ३८ प्रतिशत बढी हो।

पोहोर दसैंअघि २ महिनामा ६ लाख ७८ हजार २४४ बुक तास आयात भएको थियो। तास आयातमा १ करोड ३ लाख ३२ हजार रुपैयाँ खर्च भएको थियो।

सबैभन्दा धेरै तास चीनबाट आयात भएको तथ्यांक छ। यसपालि चीनबाट ६ करोड १ लाख २१ हजार रुपैयाँ बराबरको २१ लाख ९६ हजार ६०२ बुक तास आयात गरिएको हो। भारतबाट भने ४३ लाख ६३ हजार रुपैयाँ बराबरको १ लाख १ हजार २४ बुक तास आयात भएको विभागको तथ्यांक छ।

तास आयातबाट सरकारले २ महिनामै ४ करोड ४ लाख ३३ हजार रुपैयाँ राजस्व प्राप्‍त गरेको छ।