बैंक कर्जाको ब्याजदर घट्दो

Image

बैंक कर्जाको ब्याजदर घट्न थालेको छ । मंसिर महिनाका लागि १४ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने पाँच वटाले स्थिर राखेका छन्, एउटाले बढाएको छ । व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ९.६ प्रतिशत छ ।

गत कात्तिकको तुलनामा मंसिरमा निक्षेपको ब्याजदर ०.३५ प्रतिशत बिन्दुले घटेको हो । निक्षेपको ब्याज घटेसँगै बैंक तथा वित्तीय संस्थामा ऋण (कर्जा) को ब्याजदर पनि घटिरहेको तथ्यांकले देखाएको छ ।

निक्षेपको ब्याज घट्दा लागत (खर्च) घटेकाले बैंक तथा वित्तीय संस्थाको आधार दर (कर्जाको ब्याज निर्धारण गर्ने सूचक) घटेको छ । आधार दर घटेसँगै क्रमिक रूपमा ऋणको ब्याज पनि घटिरहेको तथ्यांकले देखाएको छ ।

एक वर्षअघिको तुलनामा अहिलेसम्म ऋणको ब्याजदर भन्डै एक प्रतिशत बिन्दुले घटिसकेको बैंकर्स संघका अध्यक्ष सुनील केसी बताउँछन् । आधार दर पनि एकल अंकमा झरेको छ । एक वर्षअघि १२ प्रतिशतभन्दा माथि पुगेको थियो ।

०७९ माघमा कर्जाको ब्याजदर पछिल्लो साढे ६ वर्षयताकै उच्च औसत १३.०३ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांक छ । त्यति बेला निक्षेपको ब्याजदर पनि औसत ८.४१ र आधार दर औसत १०.७२ प्रतिशत थियो । त्यसपछि घट्न थालेको ब्याजदर गत असारमा आइपुग्दा निक्षेपको औसत ७.८६, कर्जाको १२.३० र आधार दर १०.०३ प्रतिशतमा झर्‍यो । गत असोज मसान्तमा निक्षेपको औसत ब्याज ७.९० प्रतिशत छ भने कर्जाको औसत १२.११ र आधार दर ९.९४ प्रतिशत कायम छ । यो पछिल्लो १४ महिनायताकै कम हो । उक्त अवधिमा आधार दर ०.९८ प्रतिशत बिन्दुले घटेको देखिन्छ ।नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार ०८० असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.९४, विकास बैंकको १२.३० र फाइनान्स कम्पनीको १३.६५ प्रतिशत छ । गत वर्षको असोजमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.३४ प्रतिशत थियो ।

‘०८० असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.९०, विकास बैंकको ९.३६ र फाइनान्स कम्पनीको १०.१९ प्रतिशत छ,’ प्रतिवेदनमा भनिएको छ, ‘०७९ असोजमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.१६ प्रतिशत कायम थियो ।’ कर्जाको भारित औसत ब्याजदर ०८० असोजमा वाणिज्य बैंकको १२.११, विकास बैंकको १३.९१ र फाइनान्स कम्पनीको १४.६१ प्रतिशत छ । २०७९ असोजमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १२.१९ प्रतिशत कायम भएको थियो ।

चालु आर्थिक वर्षको तीन महिना (साउनदेखि असोजसम्म) बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २२ अर्ब ६९ करोड (०.४ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा गत असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।

गएको तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५९ अर्ब ११ करोड (१.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.८ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।