५० करोड लगानीमा आधुनिक प्रविधिमा स्तरोन्नति हुँदै मनकामना केवुलकार

Image

नेपालको पहिलो केवुलकारको उपमा पाएको मनकामना केवुलकार आधुनिक प्रविधिमा स्तरोन्नति हुने भएको छ। झन्डै ५० करोड खर्चेर आधुनिक प्रविधिमा स्तरोन्नति गर्न लागिएको कम्पनीले जनाएको छ।

कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठकाअनुसार २६ वर्ष अगाडी जडित प्रविधिलाई प्रतिस्थापन गरेर अहिलेको विश्वब्यापी अनुसारको प्रविधि अनुरुप बनाउन यत्तिको ठुलो राशि खर्चेर स्तरोन्नति गर्न लागिएको हो।

उनले भने, “२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो।”

अष्ट्रियाको विश्वकै १ नं। कम्पनी डोपलमायरबाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २५ बर्षदेखि मनकामना केवुलकार संचालनमा रहेको छ। श्रेष्ठकाअनुसार अहिलेको प्रविधि एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डी सी करेन्टबाट चल्दछ तर हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर ए सी करेन्टबाट चल्नेछ।

पुरानो मोटर सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ । त्यस्तै हाल दुई स्टेशन बीच जडित समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ र यसको लम्बाई करीव ३२०० मिटरको हुनेछ ।त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमशः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करीव ६५०० मिटरको हुनेछ ।

केवुलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रिपहरु, जस्को माध्यमबाट तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकिएको छ। डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको भनाई छ। तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ ।

डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवेयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै समाधान गर्न सकिने छ।