हावाहुरीबाट लाखौँको केराखेतीमा क्षति

Image

सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–२ का जब्बार मियाँले भोक्राहा र इनरूवा–८ डुम्रहाको बङकुलवामा १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका छन् ।

करिब ५० लाखको लागतमा जनमजदुर, खाद्यमल, बीउको अभावलगायत समस्याको बाबजुद केराखेती गरेका हुन् । नगदेबाली केराखेतीबाट राम्रो आम्दानी हुनेमा मियाँ निश्चिन्त हुन्थ्यो । मियाँ जस्तै खुर्सीद अन्सारीले दुई बिघामा केराखेती गरेका छन् । नौ लाख लागतमा उनले केराखेती गरे । उनी पनि लगानीसहित नाफा लिने विश्वासका साथ केराको रेखदेख गर्दै थिए ।

तर केही दिनअघिको हुरीबतासले केराखेतीमा क्षति पु¥याँदा उनीहरू निरास भए । केराखेतीमा गरिएको लगानीअनुसार प्रतिफल आउने निश्चिन्त भए पनि असिनापानीसँगै आएको हावाहुरीले केराखेतीमा ठूलो क्षति भएको उनीहरूले जानकारी दिए । उनी दुवै जना सुनसरीका लागि उदाहरणको पात्रमात्र हुन् । दुई दिन लगातार असिनापानीसँगै आएको हुरीबतासका कारणले सुनसरीका अधिकांश किसानको केराखेतीमा क्षति भएको कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीले जनाएको छ ।

गत आइतबार राति र सोमबार साँझको हुरीबतासले खेतमा लगाएको केराको बोट ढलेर ठूलो क्षति भएको छ । स्थानीय किसानले ऋण लिएर गरेको केराखेतीमा एकैपटक यस्तो ठूलो हावाहुरी आएकाले लाखौँको लगानी डुबाउनेगरी क्षति भएको गुनासो स्थानीय किसानले गरेका छन् ।

सुनसरी सदरमुकाम इनरूवासहित दक्षिणवर्ती क्षेत्रमा पटक–पटक आएको ठूलो हुरीले केराखेतीसहित गहुँ र मकैखेतीमा पनि क्षति भएको स्थानीय किसानले बताएका छन् । इनरूवासहित, गढी गाउँपालिका, भोक्राहा नरसिंह, हरिनगर र देवनागञ्ज क्षेत्रका केरा बगानका लगभग सबै केराका बोट ढलेकाले क्षति भएको स्थानीय किसान जब्बर मियाँले बताए ।