भारतले गुणस्तर प्रमाणपत्र रोकेपछि सिमेन्ट निर्यात २० प्रतिशतले घट्यो

Image

 नेपालबाट हुने सिमेन्ट निर्यात घटेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को माघ मसान्तसम्म गत आव २०८०/०८१ को सोही अवधिको तुलनामा सिमेन्ट निर्यातमा गिरावट आएको हो । तुलनात्मक रुपमा गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा सिमेन्टको निर्यातमा २०.३७ प्रतिशतले गिरावट आएको भन्सार विभागले जानकारी दिएको छ ।  विभागका अनुसार चालु आवको माघ मसान्तसम्म १ अर्ब ६४ करोड १० लाख रुपैयाँको ११ लाख ५३ हजार ४१० टन सिमेन्ट निर्यात भएको छ । गत आवको सोही अवधिमा २ अर्ब ६ करोड ८ लाख रुपैयाँको २१ लाख ४७ हजार टन सिमेन्ट निर्यात भएको थियो ।

नेपालबाट भारतमा सिमेन्ट र क्लिंकर निर्यात हुँदै आएको छ । माघ मसान्तससम्म ५५ करोड १५ लाख रुपैयाँको ४ लाख ६४ हजार ७७७ टन क्लिंकर र १ अर्ब ८ करोड ९५ लाख रुपैयाँको ६ लाख ८८ हजार ६३२ टन पोर्टल्याण्ड सिमेन्ट निर्यात भएको हो । यो अवधिमा १५ करोड ५३ लाख रुपैयाँको सिमेन्ट र क्लिंकर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । उक्त सबै सिमेन्ट भारतबाट आयात भएको हो ।

भारतले नेपाली सिमेन्टलाई गुणस्तरमा कडाइ गरेपछि निर्यात घटेको व्यवसायीहरू बताउँछन् । भारतले अन्य देशबाट आफ्नो देशमा आयात हुने बस्तुभाउको गुणस्तर मापन गर्ने गर्दछ । ब्यूरो अफ इन्डीयन स्टान्डर्ड (बीआईएस)ले नेपालबाट भित्रने सिमन्टहरुलाई गुणस्तर प्रमाणपत्र दिएपछि मात्रै यताबाट निर्यात हुन्छ । तर, यस्तो प्रमाणपत्र जारी र नवीकरण नै भारतले रोकेको नेपाल सिमेन्ट उत्पादक संघमा अध्यक्ष रघु नन्दन मारूले बताए । जसले गर्दा उत्पादन भएका सिमेन्ट पनि नेपाली व्यवसायीले निर्यात गर्न समस्या भएको उनले जानकारी दिए ।

उनले भने, ‘पछिल्लो समय भारतले गुणस्तर प्रमाणपत्र जारी तथा नविकरण नगरिदिइदाँ हाम्रो सिमेन्टहरु निर्यात रोकिएको हो ।’ नेपालको सिमेन्टको गुणस्तर नै कमसल हो ? भन्ने प्रश्नमा उनले भने, ‘होइन । भारतको भन्दा हाम्रो सिमेन्ट नै गुणस्तर हो । तर, बीआईएसले गुणस्तर पमाणपत्र जारी र नविकरण रोकेको छ ।’