प्रेस चौतारी नेपालले यस वर्षको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार छनौट समितिका संयोजक राजु सुवेदीलाई विशेष सम्मान प्रदान गरेको छ। लगातार पाँच वर्षदेखि छनौट समितिको संयोजकका रूपमा निष्पक्ष मूल्यांकनमार्फत निर्णायक भूमिका निर्वाह गर्दै आएका सुवेदीको समर्पण र नेतृत्व क्षमताको कदर गर्दै चौतारीले यस पटक विशेष सम्मान गरेको हो।
सुवेदीको संयोजकत्वमा गठित मूल्यांकन समितिमा यस वर्ष विष्णु तारूके र गणेश बस्नेत सदस्यका रूपमा रहेका थिए। समितिले आर्थिक पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पत्रकारहरूको मूल्यांकन गरी वरिष्ठ आर्थिक पत्रकार कुबेर चालिसेलाई यो वर्षको पुरस्कारका लागि सिफारिस गरेको हो।
पुरस्कार छनौट प्रक्रियामा सुवेदीसहितको टोलीले गरेको मूल्यांकन निष्पक्ष, पेशागत र सर्वस्वीकृत रहँदै आएको प्रेस चौतारीले जनाएको छ। लगातार पाँच वर्षसम्म निर्णायक मण्डलको नेतृत्व सम्हाल्दै आएका सुवेदीले आफ्नो अनुभव, दृष्टिकोण र नीतिगत स्पष्टतामार्फत पुरस्कार छनोट प्रक्रियामा एक स्थायी मापदण्ड स्थापना गरेको चौतारीको भनाइ छ।
सम्मान ग्रहण गर्दै सुवेदीले भने, “यो केवल मेरो सम्मान होइन, पेशागत धर्ममा अडिग रहेर निष्पक्ष मूल्यांकन गर्ने सबै पत्रकारहरूको सम्मान हो। यो जिम्मेवारीलाई मैले निष्कलंक राख्न सकेको छु भन्ने विश्वासले गर्व महसुस गराएको छ।” प्रेस चौतारी नेपालले हरेक वर्ष राष्ट्रियस्तरमा पत्रकारिताको विभिन्न विधामा उत्कृष्ट योगदान गर्ने पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। सुवेदीको संयोजकत्वमा भएको मूल्यांकन प्रक्रिया पारदर्शी, तथ्यमा आधारित र विवादरहित बनेको भन्दै चौतारीका अध्यक्षले उनको नेतृत्व क्षमतालाई ‘पेशागत उत्कृष्टताको उदाहरण’का रूपमा प्रशंसा गरे।










