दूधकोसीबाट ६३५ मेगावाट

दूधकोसी नदीस्थित रभुवाघाटबाट ६३५ मेगावाट जलविद्युत् उत्पादन हुने भएको छ । खोटाङको रावाबेंसी गाउँपालिका र ओखलढुंगाको चिसंखुगढी गाउँपालिका बीचमा पर्ने रभुवाघाटमा करिब १ खर्ब ५० अर्ब रुपैयाँ लगानीमा विद्युत् उत्पादन हुने भएको हो । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनामा पर्ने दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना सञ्चालनका लागि ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागले विद्युत् प्राधिकरणलाई यसका लागि अनुमति दिइसकेको आयोजना प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

‘आयोजना सञ्चालनका लागिडीपीआरको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘ठेक्का आह्वान गरेर यसै वर्षबाट निर्माणको काम सुर गरिनेछ ।’ रभुवामा सुरुङमार्फत ६ सय मेगाबाट र थप प्रविधि प्रयोग गरी त्यहीँबाट ३५ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । रभुवाघाटमा ड्याम (ताल) निर्माण गरी जम्मा गरिएको पानी सुरुङमार्फत १३ किलोमिटर टाढा हलेसी तुवाचुङ नगरपालिकास्थित धितुङको रातेखोलामा निर्माण गरिने पावर हाउसमा खसालिनेछ । उक्त आयोजनाको बाँध २ सय १० देखि २ सय ३० मिटर गहिरो हुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

रभुवाघाटमा निर्माण गरिएको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा दस, खोटाङतर्फको रावा खोलामा आठ र ओखलढुंगाको ठोट्ने खोला किनारमा चार किमि क्षेत्रफल डुबान हुनेछ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ८४ घर स्थानीय विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको श्रेष्ठले बताए । अधिकांश भूभाग खोटाङमा पर्ने भएकाले आयोजना सञ्चालन गर्दा सबैभन्दा बढी खोटाङका सर्वसाधारण विस्थापित हुने देखिएको छ । यो आयोजनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।

‘दूधकोसी हाइड्रो पावरका लागि ऊर्जामन्त्रीदेखि राष्ट्रपतिसम्मले चासो देखाउनुभएको छ,’ उनले भने, ‘यो आर्थिक वर्षभित्रै टेन्डर आहवान र सम्झौता गर्ने गरी कामको रफतार बढाइनेछ । त्यसपछि आगामीआर्थिक वर्षमा निर्माणको काम सुरु हुनेछ ।’ दूधकोसी हाइड्रो पावर सञ्चालनका लागि एसियाली विकास बैंक (एडीबी) ले लगानी गर्ने भट्टराईले सुनाए । आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ डिजाइन, सामाजिक तथा वातवारणीय परीक्षण र टेन्डरका काजपत्र बनाउन एडीबीले चालु आर्थिक वर्षमा ३५ करोड अनुदान दिएको उनले बताए ।
अहिले वातावरणीय परीक्षण, सडक निर्माण, सरोकारवालाहरूबीच कार्यशाला गोष्ठी, मुआब्जा वितरणको प्रक्रियालगायतको काम भइरहेको भट्टराईले सुनाए । आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवासहित जलाशयमा डुंगा सयर, माछापालनलगायत पर्यटन प्रवर्द्धनको विकास हुने प्रतिनिधिसभा सदस्य भट्टराईले बताए । यसले धार्मिकस्थल हलेसी आउने पर्यटकलाई डुंगा सयर गराउने योजना बनाइएको भट्टराईको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.