नयाँ नोट सहटीः राष्ट्र बैंकभन्दा वाणिज्य बैंकहरुमा सहज

दशैंका लागि नयाँ नोट सटही सुविधा आइतबारदेखि शुरु भएको छ । नयाँ नोट साट्नका लागि विभिन्न ठाउँहरुबाट नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा सर्वसाधारणहरुको भीड लाग्न शुरु भएको थियो ।
नोट साट्न शुरु भएको दिन आइतबार सर्वसाधारणहरु बिहान ३ बजे नै थापाथली पुगेका थिए ।

यद्यपि, धेरैबेर लाइनमा बस्न पर्ने बाध्यता यस वर्ष नरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला बताउँछन् । राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथली तथा उपत्यका बाहिरका क्षेत्रीय कार्यालयहरुसाथै नोट कोष रहेका वाणिज्य बैंकहरुबाट समेत सर्वसधारणले नोट सटहीको सुविधा पाउनेछ ।

राष्ट्र बैंक भन्दा वाणिज्य बैंकहरुमा सर्वसाधारणको कम भीड देखिएको छ । राष्ट्र बैंकमा आइतबार ५ घण्टासम्म सर्वसाधारणहरु लाइनमा बसेका थिए तर वाणिज्य बैंकहरुमा भने धेरैबेर लाइन बस्नु नपर्ने देखिएको छ । राष्ट्रिय वाणिज्य बैंकमा धेरैबेर लाइन बस्नु पर्ने अवस्था नरहेको बैंकका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म टोकन वितरण गर्ने र टोकन लिएकालाई सहज तरिकाले नयाँ नोट बैंकले उपलब्ध गराउनेछ । कृषि विकास बैंकमा पनि सहज तरिकाले नोट साट्ने सुविधा प्रदान भइरहेको बजार तथा शाखा व्यवस्थापन शाखाका विभागी प्रमुख सुजित दाहालले बताए ।

विभागीय प्रमुख दाहालका अनुसार कृषि विकास बैंकमा सोमबार १५ मिनेटदेखि बढीमा २५ मिनेटसम्म मात्रै लाइन बस्नु पर्ने अवस्था देखिएको छ । कृषि विकास बैंकको प्रधान कार्यालयसहित उपत्यकाभित्र ६ वटा शाखामा सर्वसाधारले सटही सुविधा पाउनेछन् ।

कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक जस्तै अन्य नोट कोष रहेका वाणिज्य बैंकहरुले समेत नयाँ नोट वितरण गरिरहेका छन् । वाणिज्य बैंकहरुमा सहज तरिकाले नयाँ नोट वितरण हुने भए पनि सर्वसाधारणहरु भने राष्ट्र बैंकको बैंकिङ कार्यालय थापाथलीमा धेरैबेर लाइन लाग्ने गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.