एघार महिनामा डेढ खर्ब बढीको इन्धन आयात

चालुु आर्थिक वर्षको ११ महिनामा निर्यातभन्दा दोब्बर बढी रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि जेठसम्म मुलुकबाट एक खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा दुुई खर्ब ७३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

कुुल आयातमा पेट्रोलियम पदार्थको हिस्सा १८ प्रतिशत रहेको छ । ११ महिनामा आयातनिर्यात दुवैमा गिरावट आएको छ । मुलुकमा उत्पादन नहुने पेट्रोलियम पदार्थ छिमेकी मुलुकबाट आयात हुने गर्छ ।

चालुु आवको ११ महिनामा दुई खर्ब ७३ अर्ब ४३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । गत वर्षको सोही अवधिको तुुलनामा आठ अर्ब रुपैयाँले इन्धन आयातमा कमी आएको छ ।

बजारमा पेट्रोलियम पदार्थको खपत घट्दा आयातमा समेत कमी आएको हो । गत आवको ११ महिनामा दुई खर्ब ८१ अर्ब ८८ करोड ५७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो । इन्धनको आयात बढ्दा व्यापार घाटासमेत उच्च हुने गर्छ ।

विभागका अनुसार ११ महिनामा एक खर्ब २९ अर्ब २० करोड २८ लाख ९३ हजार रुपैयाँको डिजेल आयात भएको छ । कुल निर्यातकै हाराहारीमा डिजेल आयात भएको छ ।

यस्तै ६२ अर्ब ८७ करोड ७३ लाख ३५ हजार रुपैयाँको पेट्रोल आयात भएको छ । १९ अर्ब ४७ करोड ४१ लाख २९ हजार रुपैयाँको हवाई इन्धन आयात भएको विभागको तथ्याङ्क छ । यस्तै ५१ अर्ब ७२ करोड ६७ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । ग्यास र डिजेलको खपत घटे पनि पेट्रोलको खपत भने बढेको नेपाल आयल निगमले जनाएको छ ।

स्थानीय बजारमा डिजेल र ग्यासको खपत घट्दा पेट्रोलियम पदार्थको आयातमा सामान्य कमी भएको विभागको तथ्याङ्क छ । विद्युतीय इन्डक्सनको चुलोको प्रयोगले गर्दा ग्यासको खपतमा सामान्य कमी आएको छ । यस्तै विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा डिजेलको खपतमा समेत कमी आएको निगमको तथ्याङ्कले देखाएको छ ।

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार ११ महिनामा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य सात प्रतिशतले बढेको छ । गत वर्ष साउनदेखि जेठ महिनासम्ममा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ७५.७५ अमेरिकी डलर रहेकोमा कच्चा पेट्रोलियमको मूल्य चालु आवको ११ महिनामा ७.६ प्रतिशतले बढेर प्रतिब्यारेल ८१.४९ अमेरिकी डलर रहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा स्वतः पर्ने गर्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.