ओली र मोदी बीच भेटवार्ता, कुन- कुन विषयमा कुराकानी भए ?

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा छन् ।

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरससँग स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता गरेका छन् ।साथै उनले प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि साइडलाइन भेटवार्ता गरेका छन् ।

उनको समकक्षी मोदीसँग भेट हुने/नहुने अन्योल रहेकै बेला न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ ५:३० बजे भेटवार्ता भएको हो ।

भेटपछि प्रधानमन्त्री मोदीले प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा भएको भेट निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् ।मोदीले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, ‘भारत(नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो ।’

प्रधानमन्त्री ओलीले पनि दुई नेता बीचको भेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।तर उनको सचिवालयले भने यसबारेमा थप विवरणहरु प्रष्ट पारेको छैन ।

प्रधानमन्त्रीको यस्तो आग्रहमा समकक्षी मोदीले आफू नेपालको भ्रमण चाँडै गर्ने मनस्थितिमा रहेको धारणा राखेको भेटवार्तामा सहभागी एक अधिकारीले बताएका छन् । भेटपछि अमेरिकामा नेपाली सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री डा आरजु राणाले पनि भारतका प्रधानमन्त्री मोदी नेपालको भ्रमण चाँडै गर्ने विषयमा कुराकानी भएको बताएकी छन् ।

प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीसँगको भेटघाट राम्रो भएको बताउँदै नेपाल–भारतको मित्रता धेरै बलियो र त्यसलाई अझै गति दिन चाहेको उल्लेख गरेका छन् ।

पाँचौं पटक प्रधानमन्त्री बनेका ओलीको प्रधानमन्त्री मोदीसँग भएको यो तेस्रो भेटघाट हो । ओली प्रधानमन्त्री भएको यतिका दिन वितिसक्दा पनि भारतले औपचारिक रुपमा नयाँदिल्ली आमन्त्रण भने गरेको छैन ।

अमेरिकाको भेटवार्ता पनि अन्तिम समयमा आएर तय भएको हो । यो भेटवार्ताले दुई देश बिचको सम्बन्ध र ओली–मोदी बीचको सम्बन्धमा पनि सुधार आएको अपेक्षा गरिएको छ । चाँडै नै दुई देश बीच उच्चस्तरीय भ्रमण हुने आकलन कूटनीतिक क्षेत्रका विज्ञहरुले गरेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.