९ माघ, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर बिक्री तथा निष्काशनको जिम्मा पाएको ग्लोबल आइएमई क्यापिटलले शुक्रबार विहान आईपीओ बाँडफाँट गरेको हो ।
आवेदन दिएका मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यसबमा पनि भाग्यमानी २ जनाले भने ११÷११ कित्ता सेयर हात पारेको क्यापिटलले जनाएको छ । १० कित्ताका दरले बाँडफाँट गरेपछि उभ्रिएको २ कित्ता गोलाप्रथाबाट २ जनालाई दिइएको हो ।
कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणको आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले एक सय रुपैयाँका दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन गरेको थियो ।
आईपीओमा आवेदन दिएका मध्ये १२ लाख ११ हजार ११५ जनाकोमात्रै आवेदन स्वीकृत भएको थियो भने ४० हजार भन्दा धेरै आवेदकको आवेदन रद्द भएको थियो ।
कम्पनीको आईपीओमा १२ लाख ५१ हजार १० जना आवेदकबाट २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १७.५३ गुणा बढी हो ।