तीन महिनामा रेमिट्यान्समार्फत भित्रियो चार खर्ब सात अर्ब

चालु आर्थिक वर्षको तीन महिना (साउन, भदौ र असोज)मा रेमिट्यान्समार्फत चार खर्ब सात अर्ब ३१ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो ११.५ प्रतिशतले बढी हो । ०८० असोज मसान्तसम्म रेमिट्यान्स आप्रवाह २५.८ प्रतिशतले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको थियो । यस्तै असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यस वर्षको तीन महिनामा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९ सय ३९ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३ सय ९७ र ४९ हजार २ सय ९७ रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.