दशैंका लागि १८०० खसीबोका र च्यांग्रा ल्याउँदै खाद्य कम्पनी

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंमा १ हजार ८०० वटा खसीबोका र च्यांग्रा खरिद गर्ने निर्णय गरेको छ ।

गत वर्ष ल्याएका सबै नबिकेपछि यस वर्ष कम ल्याउन लागिएको हो । यस वर्ष १ हजार ५०० खसीबोका र ३०० वटा च्यांग्रा खरिद गर्ने निर्णय भएको कम्पनीले बताएको छ । दशैंलाई खसीबोका र च्यांग्रा खरिद गर्न यसपटक कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

गत वर्ष कम्पनीले दशैंलाई खसीबोका र च्यांग्रा खरिद गर्न ८ करोड ३३ लाख बजेट छुट्याएको थियो । यो बजेटमा ३ हजार खसीबोका र च्यांग्रा ल्याउने लक्ष्य राखेको थियो ।

यस वर्ष कम्पनीले गत वर्षको तुलनामा ४ करोड ६४ लाख रुपैयाँ बजेट घटाएको छ भने खसीबोका र च्यांग्रा खरिद गर्ने कोटा पनि घटाएको छ । कम्पनीले गत वर्ष दशैंलाई ३ हजार खसीबोका र च्यांग्रा खरिद गर्ने लक्ष्य राखेकोमा २ हजार २०१ वटा मात्र ल्याएको थियो ।

गत वर्ष ३१ वटा खसीबोका मरेका थिए । यस्तै, ५४२ वटा च्यांग्रा ल्याएकोमा २० वटा मरेका थिए । गत वर्ष दशैंका लागि ल्याएका खसीबोका र च्यांग्रा बिक्री नभएर मरेको हुँदा यस पटक १हजार ८०० वटा मात्र ल्याउने योजना कम्पनीको छ ।

कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याएकोमा २ करोड ४९ लाख रुपैयाँका खसीबोका र १ करोड ३० लाखका च्यांग्रा खरिद गर्ने योजना छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.