नेपालमा पहिलो पटक आधिकारिक रूपमा दर्ता भयो टिकटक
नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको छ ।
तिहार अघि नै दर्ता प्रक्रिया पुरा भइसकेको भए पनि मङ्गलबार मात्रै टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र लिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको हो ।
सामाजिक सन्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम टिकटक दर्ता भएको हो । यसले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोगलगायत नेपाल सरकारले तोकेका सर्त पूरा गर्नेछ ।
सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सन्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो । सोहीअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो ।
सरकारले २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरे पनि गत भदौ ६ मा प्रतिबन्ध फुकाएको थियो । आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट राजस्व उठाउने बाटो खुलेको छ भने नियमन पनि सहज हुनेछ ।