नेप्सेले २५ सयलाई बनायो मनोवैज्ञानिक विन्दु

अन्तर दिनको कारोबारमा पटक–पटक २५ विन्दु भेट्दै ओर्लिंदै गरेको नेप्सेमा यो विन्दु प्रतिरोधको रूपमा देखिएको छ।

केही समयअघिसम्म बजार वृद्धिको क्रममा रहँदा पनि सुरूमा लगानीकर्ताहरू नेप्से यो तहसम्म पुग्ने अड्कलबाजीमा थिए। त्यसैले सोही विन्दु आसपास पुगेपछि लगानीकर्ताले ठोस निर्णय लिन नसकेका देखिन्छ।

सोमबार अन्तरदिनको कारोबारमा नेप्से २५ सय ४ विन्दुसम्म पुगेको थियो। यो २०७८ चैत यताकै उच्च विन्दु हो।

बजार बढ्दै जाँदा पछिल्लो समय यो थप उचाइमा पुग्ने धेरैको दाबी छ। त्यसैले, २५ सयको विन्दु आसपासमा केही लगानीकर्ताले प्रोफिट बुकिङ थाल्दा बजार धेरै बढ्न नसकेको उनीहरू बताउँछन्।

केही दिनदेखि लगातार बढेको बजारमा सामान्य करेन्सन हुने अपेक्षा गरिएको थियो। किनभने गत साउन १ गतेदेखि बजार बढेको छ। साउन १ गते यतामात्रै बिना करेक्सन नेप्से २४७ अंकले बढेको छ।

यस विपरीत सोमबार नेप्से सामान्य (२.१५ अंक) बढेर २४८८.०९ विन्दुमा बन्द भएको छ।

त्यसैले पनि बजारले अहिले स्पष्ट दिशा लिन नसकेको हो। कारोबार रकम केही घटेको भए पनि यो पछिल्लो दिनहरूको औसत कारोबारभन्दा उच्च नै हो।

यस दिन १३ अर्ब ९१ अर्ब रूपैयाँको कारोबार भएको छ। आइतबार १५ अर्ब २३ करोड रूपैयाँको कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ३२ करोड रूपैयाँ कमी आएको हो।

यस दिन ३०९ वटा धितोपत्रको तीन करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ वटाको घटेको छ। यस्तै, छ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन मुक्तिनाथ कृषि कम्पनीको सेयर सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ४९४ रूपैयाँ ९० पैसा कायम भएको छ।

यस्तै, नेपाल फाइनान्सको मूल्य ८.६७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १७९ रूपैयाँ कायम भएको छ।

गणपति लघुवित्तको मूल्य सर्वाधिक ९.९४ प्रतिशतले घटेको छ।

उक्त कम्पनीको मूल्य दुई हजार ५५ रूपैयाँ १० पैसा कायम भएको छ।

यस्तै, सिक्लेस हाइड्रोपावरको मूल्य ८.६६ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७९९ रूपैयाँ कायम भएको छ।।

सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको प्रतिकित्ता मूल्य ६६१ रूपैयाँ २० पैसामा ३६ करोड ९३ लाखको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ३.६४ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५७० रूपैयाँ ९० पैसामा ३४ करोड ७८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी छ समूहको परिसूचक घटेको छ।

यसदिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक २.१६ प्रतिशतले बढेको छ भने बैंकिङ समूहको सर्वाधिक परिसूचक १.२३ प्रतिशतले घटेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.