धितोपत्र दोस्रो बजार मापक परिसूचक नेप्से बुधबार १०८.३५ अंकले बढेको छ । आज नेप्से ४.०८ प्रतिशतले बढेर दुई हजार ७५९.६७ को विन्दुमा पुगेको हो ।
लामो समय बढेको बजारले मंगलबार करेक्सन लिँदा राताम्मे बनेको बजार बुधबार पुन बढेको हो । यसदिन तीन करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर १७ अर्ब ९५ करोड ९ लाख १८ हजार ६२७ रुपैयाँमा कारोबार भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा करिब पाँच अर्ब ७७ करोडले कम हो ।
बुधबार फाइनान्स, जलविद्युत्, होटल व्यापार तथा अन्य समूहमा रहेका कम्पनीको मूल्यमा उछाल देखिएको हो ।
करेक्सनपछिको बजारमा लगानीकर्ताले १७ अर्ब ९५ करोड रुपैयाँको कारोबार गर्दा बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स, मैलुङ खोला जलविद्युत्, डोल्टी पावर कम्पनी, सिटी होटल र हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिसहित सर्किट लागेको हो ।