प्राधिकरणले गर्‍यो ४०० केभी क्षमताको ढल्केबर–इनरुवा प्रसारण लाइन चार्ज

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–इनरुवा ४०० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन चार्ज गरेको छ । प्राधिकरणका अनुसार यहि जेठ अन्तिम साता निर्माण सम्पन्न भएको यो प्रसारण लाइन सफलतापूर्वक आज चार्ज गरिएको हो ।

विद्युतीय प्रसारण लाइन सबल बनाउन र नेपाल भारत विद्युत् व्यापारका लागि यो आयोजना अघि बढाइएको थियो । १५४ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइनले ४ हजार मेगावाटसम्म बिजुली प्रवाह गर्न सक्छ ।

यो परियोजनालाई प्राधिकरणले दुई खण्डमा विभाजन गरेको निर्माण अघि बढाएको थियो । यसलाई १३४ किलोमिटर र १५४ किलोमिटरमा गरी दुई खण्डमा विभाजन गरिएको थियो । १५४ किलोमिटर ढल्केबर–इनरुवा खण्ड सम्पन्न भएपछि १३४ किलोमिटर लम्बाई भएको हेटौँडा–ढल्केबर खण्ड निर्माणाधीन अवस्थामा छ ।

प्राधिकरणका अनुसार देशभित्र विद्युत् आपूर्तिका लागि बनेको यो पहिलो ४०० केभी क्षमताको प्रसारण लाइन हो । यस अघिसम्म ४०० केभी क्षमताको ढल्केबर–मुज्फ्फुर प्रसारण लाइन मात्रै सञ्चालनमा थियो । यसबाट नेपाल–भारत विद्युत् व्यापार हुँदै आइरहेको थियो ।

प्राधिकरणले असार २ गते ढल्केबर–इनरुवा प्रसारण लाइनको परीक्षण गरेको थियो । परीक्षण सफल भएलगत्तै प्रसारण लाइन चार्ज गरेर विद्युत् प्रवाह सुरु गरेको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.