प्राधिकरण बोर्ड बैठक बस्दै, उद्योगको लाइन जोड्ने निर्णय हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति (बोर्ड) बैठक मंगलबार दिउँसो २ बजे बस्दै छ । ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद्ले गरेकोमा त्यसको कार्यान्वयनको निर्णय आजको बोर्ड बैठकले गर्ने छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले ‘टाइम अफ डे’ (टीओडी) डाटा तथा तत्काल प्रचलित कानुन बमोजिम १५ दिनभित्र यो विवादको बक्यौता असुली गर्ने निर्णय पनि गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम बक्यौताको पुनः गणना गरी असुल गर्ने निर्णय पनि बोर्ड बैठकबाट हुने जानकारी एक बोर्ड सदस्यले दिए । बोर्ड बैठक बिहान साढे ११ बजे नै बस्ने भनिए पनि सञ्चालकहरू भरत आचार्य र रतन ऐन उपत्यका बाहिर भएकाले उनीहरू आएपछि बैठक हुने ती सदस्यले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र उद्योगहरूमा लाइन जोडिदिने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद् निर्णय प्रमाणित भएर सोमबार अपराह्न मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेको थियो । मन्त्रालयले उक्त निर्णय कार्यान्वयन गर्न सोमबार साँझ प्राधिकरणलाई पत्र पठाइसकेको छ । प्राधिकरणमा साँझ ५:१५ बजे उक्त पत्र दर्ता भएकाले त्यसको २४ घण्टाभित्र बिजुली जोडिने मन्त्रालय स्रोतले बतायो ।

‘मन्त्रालयबाट पत्र प्राप्त भइसकेपछि प्राधिकरणले तत्कालै लाइन जोड्नुपर्ने हो । किनभने, विद्युत् प्राधिकरण ऐनको दफा २५ मा सरकारले प्राधिकरणलाई निर्देशन दिन सक्ने उल्लेख छ । तर, कार्यकारी निर्देशक कुलमान घिसिङले बोर्ड बैठकले निर्णय गरेपछि मात्रै लाइन जोड्ने अडान राखेकाले त्यसमा ढिलाइ भएको हो,’ मन्त्रालय स्रोतले भन्यो । बोर्ड बैठक बसेपछि तत्कालै लाइन जोडिने पनि उनले बताए ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.