बङ्गलादेशको आन्दोलनका कारण रोकियो विद्युत् खरिद-बिक्री सम्झौता

बङ्गलादेशसँग हुने भनिएको ४० मेगावाट विद्युत् बिक्री सम्झौता रोकिएको छ । बङ्गलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक आन्दोलनका कारण तत्कालका लागि सम्झौता रोकिएको हो ।

यसअघि यही साउन १३ गतेका लागि सम्झौता समय तोकिएको थियो । बङ्गलादेशबाट र भारतबाट समेत प्रतिनिधि काठमाडौँ आएर नेपालसहित त्रिपक्षीय सम्झौताको समय तय भएको थियो । तर, बङ्गलादेशमा भएको हिंसात्मक आन्दोलनका कारण तत्काललाई रोकिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बङ्गलादेशले नेपाललाई सम्झौता समय स्थगित गर्न पत्र पठाएको बताए । बङ्गलादेश सरकारले आरक्षणको व्यवस्था लागू गरेपछि विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रिएका थिए ।

सो आन्दोलनमा डेढसय जनाभन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै शुक्रबारदेखि लागू देशव्यापी ‘कफ्र्यू’ समेत हटेको छ । सर्वोच्च अदालतले विद्यार्थीको पक्षमा घोषणा गर्दै आरक्षण व्यवस्था हटाएसँगै स्थिति साम्यतर्फ गइरहेको छ ।

नेपाल र बङ्गलादेश लामो समयदेखि विद्युत् खरिद बिक्री सम्झौता गर्न चाहिरहेका छन् । बङ्गलादेश यतिबेला विद्युत्मा भारतसँग मात्रै निर्भर छ । यो निर्भरतालाई केहीहदसम्म कम गर्ने योजना बङ्गलादेशको छ । यस्तै नेपालले समेत आफ्नो सबै विद्युत् भारतीय बजारमा बिक्री गर्दै आइरहेको छ ।

यो परनिर्भरतालाई न्यून गर्ने चाहनासहित बङ्गलादेशमा विद्युत् निर्यातको ढोका खोल्न नेपाल पनि लालायित छ । यसका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने भएकाले भारतीय सहमति आवश्यक छ । तर साउन १३ गतेलाई तय भएको पूर्वनिर्धारित समय सरेको छ ।

नेपाल र बङ्गलादेशबिच हुने सम्झौतापछि भारतीय प्रसारणलाईको प्रयोगबाट बिजुली किनबेच हुनेछ । भारतीय प्रसारणलाई प्रयोगबापत तोकिएको रकम तिरेर बङ्गलादेश बिजुली पुग्नेछ । काठमाडौँमा हुने भनिएको बैठकले प्रसारणलाईको रकम र तोकिएको रकम कसले तिर्ने भन्ने तय हुन्थ्यो ।

बङ्गलादेशले पठाएको पत्रमा अर्को बैठक कहिले बस्ने भन्ने बारे उल्लेख छैन । यद्यपि, देशको आन्तरिक मामिला सुल्झिएपछि बैठक गर्नेगरी प्रतिबद्धता आएको छ । नेपालसँग बिजुली किन्नका लागि बङ्गलादेशको मन्त्रीपरिषद् बैठकले निर्णय नै गरिसकेको छ ।

यस्तै आशयपत्र पनि आइसकेको छ । यसबाहेक बङ्गलादेशले नेपालबाट लैजाने बिजुलीको मूल्य प्रतियुनिट ६ दशमलव ४० सेन्ट हुन आउँछ । यो ८ रुपैयाँ हाराहारी हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.