बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तान्दै

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै निक्षेप बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थाहरुलाई आह्वान गरेको हो । राष्ट्र बैंकले निक्षेप संकलन नामक उपकरणमार्फत ४० अर्ब रुपैयाँ बजारबाट तान्न लागेको हो ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो । वित्तीय प्रणालीमा पैसा धेरै भएकै कारण ब्याजदर निकै तल नझरोस् भन्नकै लागि राष्ट्र बैंकले केही दिनको अन्तरमा बजारबाट पैसा झिक्दै आइरहेको छ ।

निक्षेप संकलन खरिदका लागि आज (बुधबार) दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी सूचनामा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.