ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका दुई सदस्यलाई हटाएका छन्।
प्राधिकरण सञ्चालक समिति सदस्य कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएका हुन्।
नेकपा एकीकृत समाजवादी कोटाका आचार्य र नेकपा माओवादी केन्द्र कोटामा नियुक्त भएका पुनलाई मन्त्री खड्काले इमेल पठाएर पदमुक्त भएको जानकारी दिएका हुन्।
मन्त्री खड्काले इमेल पठाएर आफूहरूलाई पदबाट हटाएको जानकारी गराएको कपिल आचार्यले बताए।
ुहामीले ट्रंक र डेडिकेटेड लाइनको २२ अर्ब बक्यौता उठाउनुपर्छ भनेर बैठकमा कुरा उठाएका थियौं। उनीहरूको धारणा छुट दिनुपर्छ भन्ने छ अनि हामीलाई हटाइयो,ु उनले सेतोपाटीसँग भने।
साउन १८ गते खड्काले आफूहरूलाई पदमुक्त गराएको उनले बताए।
मन्त्री खड्काले हटाए पनि आज साँझ सञ्चालक समिति बैठकमा प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले दुबै जनालाई डाकेका छन्।
आइतबार अपरान्ह ४ः३० बजे बस्ने बैठकमा उनीहरूलाई घिसिङले डाकेका हुन्।
ुहटाउने अनि फेरि बोलाउने दोहोरो चरित्र देखिएको छ। खास कुरो के हो किन बोलाइयो केही जानकारी छैन। हामी जाने कि नजाने निर्णय गरिसकेका छैनौं,ु उनले भने।
उनीहरूले डेडिकेटेड तथा ट्रंक लाइन विवाद सुल्झाउन सरकार र विद्युत नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै मन्त्रीले पदबाट हटाएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
प्राधिकरण सञ्चालक समितिको बैठकले यो विवादमा विद्युत काटेका ६ उद्योगमा लाइन जोडिदिने निर्णय गरेको तर सो निर्णयमा सञ्चालकद्वय पुन र आचार्यले फरक मत (नोट अफ डिसेन्ट) लेखेको कुरालाई लिएर हटाइएको मन्त्रालय स्रोतले बताएको छ।