महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने, अधिकृत पुँजी १० अर्ब

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी, व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ। सोमबार वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो जानकारी दिएका हुन्।

अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ। कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैया हुनेछ। यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए।

उनले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि जानकारी दिए। राजनीतिक दलहरुको आर्थिक बिषयमा एकै एजेन्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासंघको चैत अन्तिम साता आयोजना हुने बार्षिक साधारणसभामा सबै दलको ऐक्यबद्धता खोजिने जानकारी दिए।

महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोसेढुंगा भएको उनको भनाइ छ। सोही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको दाबी गरे।

‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.