मौद्रिक नीतिको समीक्षा कहिले आउँछ ? कस्तो नीति आउँदैछ ?

नेपाल राष्ट्रबैंकले म्रौद्रिक नीतिको समीक्षा यही महिनाभित्र ल्याउने तयारी गरेको छ ।
नेपाल राष्ट्रबैंकका सहायक सूचना अधिकारी डा। भागवत आचार्यकाअनुसार सामान्यतया नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास सकिएको एक महिनाभित्र समीक्षा ल्याइसक्छ । अहिले पनि अनुसन्धान बिभागले समीक्षाको तयारी गरिरहेको उनले जानकारी दिए । उनकाअनुसार कात्तिक महिनाभित्रै समीक्षा आइसक्ने गरी तयारी अगाडि बढेको छ ।

राष्ट्रबैंकले मौद्रिक औजारमार्फत मुद्रा स्फीतिलाई नियन्त्रणमा राख्ने विषयमा सचेततापूर्वक नीतिहरु अबलम्बन गर्दै गइरहेको उनको भनाई छ । कर्जाको माग बढ्न नसकेको विषयमा भने उनले वित्तीय नीतिमार्फत नै सरकारले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा तयार गर्ने गृहकार्य सुरु गरिसक्दा सेयर बजार, बैंक तथा अन्य बजारहरुमा केही न केही लचक नीति आउने अपेक्षा गरिएको छ ।

सेयर बजारका लगानीकर्ताहरुले सेयरधितो कर्जातर्फ व्यक्तिका लागि राखिएको सीमा हट्ने र यस्तो कर्जाको जोखिम भार पनि घट्ने अपेक्षा गरेका छन् । केन्द्रीय बैंकका अधिकारीहरुले भने यस्ता विषयमा अहिले नै बोल्न हतारो हुने दाबी गर्छन् ।

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको, ऋणको बिस्तार हुन नसकेको अवस्था छ । यस्तै, प्रत्येक महिना लगातार निक्षेपको ब्याजदर घटिरहेको अवस्था छ । यसले निक्षेप निरुत्साहित हुने डर पनि अर्कोतर्फ छ । अमेरिकी डलरको भाउ बढेर उचाईमा पुगेको अवस्थामा केन्द्रीय बैंकले तोकेको सीमाभन्दा माथि मुद्रास्फिति पुग्ने जोखिम पनि छ । यी सबै विषयलाई आधार बनाएर केन्द्रीय बैंकले केही सुधारात्मक कदमहरु समीक्षामार्फत चाल्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.