पछिल्लो ६ घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा, अर्चले, बल्ड्याङ्गढीमा भारी वर्षा भएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको डण्डा, दुमकौली, सेमारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको देउराली नवल, रुपन्देही जिल्लाको तिलोत्तमा, भैरहवा, लुम्बिनीस्थित वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त क्षेत्र भएर बहने कालीगण्डकी नदी, तिनाउ नदी, निस्ती खोला, बिनइ नदी, मुकुन्डे खोलालगायत स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम रहेको विभागको भनाइ छ ।
तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूलाई भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले अझै ४८ घण्टा लगातार झरी पर्ने सम्भावना रहेको बताएका छन् ।