लुम्बिनी प्रदेशमा धान रोपाइँ ६६ प्रतिशत

लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ६६ प्रतिशतमा रोपाइँ सकिएको छ । धान रोपाइँ हुने ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म २ लाख ७ हजार ३९ हेक्टरमा रोपाइँ भएको लुम्बिनी प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार असार ३० गतेसम्मको तथ्याङ्कले अझै ३४ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी छ । लुम्बिनी प्रदेशमा १२ वटै जिल्लामा धान रोपाइँ हुने गर्छ । जसमध्ये प्रतिशतका हिसाबले सबैभन्दा धेरै धान रोपाइँ रोल्पामा र सबैभन्दा कम बाँके जिल्लामा भएको छ ।
रोल्पामा ४ हजार ५९५ हेक्टरमा धान रोपाइँ हुन्छ, जसमध्ये अहिले ९६ प्रतिशत रोपाइँ भएको छ । बाँके जिल्लामा धान उत्पादन हुने ३४ हजार ८५० हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म जम्मा ३५ प्रतिशतमा मात्रै रोपाइँ भएको प्रदेश कृषि निर्देशनालय बुटवलले जनाएको छ ।

प्युठानमा धान उत्पादन हुने कुल ६ हजार ५२५ हेक्टर क्षेत्रफलमध्ये ९१ प्रतिशतमा रोपाइँ भइसकेको छ । दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार २२५ हेक्टरमध्ये ५२ प्रतिशतमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

नवलपरासी र रुपन्देही जिल्लामा प्रतिशतका हिसाबले बराबर धान रोपाइँ भएको छ । यी दुवै जिल्लामा हालसम्म ९० प्रतिशत धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ । रुपन्देहीमा धान उत्पादन हुने क्षेत्रफल ६३ हजार ४९७ हेक्टर र नवलपरासीमा धान रोपाइँ हुने क्षेत्रफल २० हजार ४८० हेक्टर छ ।

कपिलवस्तुमा ६९ हजार ४९७ हेक्टरमा धान रोपाइँ हुन्छ । जसमध्ये अहिले ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । बर्दियामा ५० हजार १०० हेक्टरमा धान रोपाइँ हुन्छ, जसमध्ये अहिलेसम्म ७६ दशमलव ३ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशको पहाडी जिल्लामा गुल्मीमा ६१ प्रतिशत रोपाइँ सकिएको छ । यो जिल्लामा ७ हजार ९८८ हेक्टरमा धान रोपाइँ हुन्छ । पाल्पामा ८ हजार २४० हेक्टरमा धान खेती हुने गरेकोमा अहिलेसम्म ५३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अर्घाखाँचीमा ७ हजार ७०१ हेक्टरमा धान रोपाइँ हुनेमा हालसम्म ६८ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । यस्तै रुकुम पूर्वमा धान रोपाइँ हुने ९६२ हेक्टरमध्ये ६५ प्रतिशतमा सम्पन्न भइसकेको छ ।

लुम्बिनी प्रदेश कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत राम प्रसाद पाण्डेले तराईका जिल्लाहरूमा साउनको दोस्रो हप्तासम्म रोपाइँ सकिने बताए । बाँकेमा धेरै गाउँपालिकामा सिँचाइको अभावका कारण अन्य जिल्लाको तुलनामा कम रोपाइँ भएको उनको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.