विश्व बजारमा फेरि महँगियो कच्चा तेलको भाउ

विश्व बजारमा कच्चा तेलको भाउ फेरि बढेको छ । अमेरिकासहित विभिन्न मुलुकमा कच्चा तेलको मौज्दात केहि घटेसँगै मूल्यमा चाप परेको आयलप्राइस ले आफ्नो वेबसाइटमा समाचार छापेको छ ।

पछिल्लो पाँच दिनको अवधिमा कच्चा तेलको भाउ औसतमा साढे ४ प्रतिशतले बढेको पनि समाचारमा उल्लेख छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआए) का अनुसार अगस्ट १६ सम्ममा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहेकाले मूल्यमा चाप परेको हो ।

गत बुधबार प्रतिब्यारेल ७१.९ अमेरिकी डलर हाराहारीमा कारोबार भएको डब्लूटीआई कच्चा तेलको भाउ बढेर हाल ७५.३ पुगेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ यो अवधिमा ७५.५ डलरबाट बढेर ७९.५ पुगेको छ । मुर्बान तेलको भाउ पनि प्रतिब्यारेल ७५.२ डलरबाट बढेर ७८.८ पुगेको छ ।

विश्व बजारमा कच्चा तेलको भाउ झनै महँगो हुने आशंका छ । अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन एन्ड चेजले देशहरू बीच नयाँ खाले तनाव बढ्ने र आपूर्तिमा कमी आउँदा कच्चा तेलको भाउ अझै बढ्ने प्रक्षेपण गरेको छ।

तेल बजारमा उथल–पुथल भइरहेको भए पनि पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठन (ओपेक) मा आबद्ध देशहरू उत्पादन कटौतीमा अडिग छन् । यसले पनि दुई वर्षमा पहिलो पटक कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १०० डलरमा पुग्ने खतरा बढाएको छ ।

विश्व बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा आयात हुने डिजेल, पेट्रोलको भाउ पनि बढ्दछ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाउने मूल्यलाई कच्चा तेलको भाउ उतारचढावले असर पार्दछ ।

निगमले आईओसीले पठाएको सूचीअनुसार यहाँ समायोजन गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा कच्चा तेलको मूल्य बढ्दा ढुवानी भाडा समेत बढ्न गई समग्र मूल्यवृद्धि बढ्न जान्छ ।एजेन्सीहरुको सहयोगमा

सम्बन्धित
Leave A Reply

Your email address will not be published.