विश्व बैंकसँग सडक सुधारका लागि ११ अर्ब बराबरको सम्झौता

नेपालको प्रादेशिक तथा स्थानस्य सडक सुधारको लागि विश्व बैंक र सरकारबिच ११ अर्ब रुपैयाँ बराबरको वित्तीय सम्झौता भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रमबिच विश्व बैंकसँग नेपाल सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधारका लागि वित्तीय सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको तर्फबाट विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि नयाँ कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले हस्ताक्षर गरेका छन् ।

विश्व बैंकले प्रादेशिक तथा स्थानीय सडक सुधार कायोजनाका लागि एक सय मिलियन अमेरिकी डलर अर्थात् करिब ११ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर पश्चात बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले विश्व बैंकसँग एक सय मिलियन अमेरिकी डलर बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका लागि वित्तिय सहयोग सम्झौतामा हस्ताक्षर भएको बताए ।

उनले आयोजनाभित्र दुई सय किलोमिटर प्रादेशिक र स्थानीय सडक निर्माण र स्तर उन्नति हुने जानकारी दिए । उनले प्रादेशिक र स्थानीय तहको यातायात क्षेत्रको निर्माणमा असल अभ्यासहरु अवलम्वन गर्न प्रोत्साहित गरी क्षमता विकास हुने विश्वास लिएको बताए ।

सहसचिव नेपालले प्रदेश र स्थानीय तहहरुलाई अझ भरपर्दो, सुरक्षित र सबै समयमा सडक सञ्चालन हुने वातावरण बनाउने बताए । उनले सडक सुधार भएसँगै आर्थिक र बजारलाई जोड्दै थप आर्थिक लगानीको बाटो खोल्ने जिकिर गरे । पहिलो चरणमा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा गरी तीन प्रदेशमा कार्यान्वयन हुने उनको भनाइ छ । उनले आयोजना प्रदेश सरकारका भौतिक मन्त्रालयमार्फत कार्यान्वयन हुने बताए ।

‘‘विश्व बैंकसँग एक सय मिलियन अमेरिकी डलर बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजनाका लागि वित्तीय सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । यो आयोजनाभित्र २ सय किलोमिटर प्रादेशिक र स्थानीय सडक निर्माण र स्तर उन्नति हुनेछ । थप एक सय एक किलोमिटर सुधार हुनेछ । तीन सय किलोमिटरमा आमसिक सुधार हुनेछ । यो आयोजनाले प्रादेशिक र स्थानीय तहको यातायात क्षेत्रको निर्माणमा असल अभ्यासहरु अबलम्बन समेत गर्न प्रोत्साहित गरी क्षमता विकास हुनेछ । प्रदेश र स्थानीय तहहरुलाई अझ भरपर्दो, सुरक्षित र सबै समयमा सडक सञ्चालन हुने विश्वास छ,’’ सहसचिव नेपालले भने, ‘‘सडक सञ्चालले आर्थिक क्षेत्र र बजारलाई जोड्नेछ । यो सडकले थप आर्थिक लगानीको बाटो खोल्नेछ । स्थानीय यात्रुहरुको सडक सुधार भएपछि लागत घट्छ । पहिलो चरणमा तीन वटा प्रदेशमा कार्यान्वयनमा जानेछ ।’’

त्यस्तै विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले विश्व बैंकले नेपालको प्रादेशिक र स्थानीय सडक सुधारका लागि सहयोग प्रदान गरिएको बताए । उनले प्रादेशिक र स्थानीय सडक सुधार गरी यातायात क्षेत्रको विकास तथा क्षमता विकास हुने विश्वास लिएको धारणा व्यक्त गरे । उनले नेपालको यातायात तथा सडक क्षेत्रको स्तरोन्नति गरी सहज र सुरक्षित सेवामा सहयोग पुग्ने उल्लेख गरे ।

विश्व बैंकले प्रादेशकि र स्थानीय सडक सुधारको लागि दिने अनुदान सहुलियत रकम स्वीकार गर्ने यसअघि नै सरकारले निर्णय गरेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.