वीरगञ्जको सुक्खाबन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो

वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब ५५ करोड २६ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चार महिनाको अवधिमा कूल वार्षिक लक्ष्यको २७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो । सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले विदेशी मुलुकबाट वस्तु तथा सामान आयात घट्दा राजस्व सङ्कलनमा कमी आएको बताए ।

चाडपर्वको समयमा धेरै बिदा भएकाले पनि पछिल्ला महिनामा विदेशबाट वस्तु तथा सामानको आयात घटेको भन्दै उनले राजस्व संकलन पनि घटेको उल्लेख गरे ।

चालु आवको साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड र कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको भन्सार अधिकृत बरुवालले जानकारी दिए ।

कार्यालयले गत आवको चार महिनामा १६ अर्ब ७५ करोड ३१ लाख ५५ हजार राजस्व सङ्कलन गरेको थियो ।

गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २० करोड ४ लाख ५६ हजारले राजस्व सङ्कलनमा कमी आएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.