बारा । निजगढ नगरपालिका–६ का सुजन तिमिल्सिनाको परिवारले दैनिक १ हजार ५ सयदेखि २ हजार लिटर दुधको खुवा उत्पादन गर्दछन् । झिसमिसेदेखि मध्यरातसम्म आगोको भट्टीमा कराही घोटेर १ खुवा उत्पादन गर्दै आएका तिमिल्सिना परिवार अहिले भने आधुनिक मेसिनको प्रयोग गर्न थालेको छ ।
झण्डै एक दशकदेखि व्यावसायिक रुपमा खुवा उत्पादन गर्दै आएका तिमिल्सिना परिवार दाउराको प्रयोग गरेर खुवा पकाउँदा धेरै खर्चिलो, समय पनि धेरै लाग्ने र खुवाको गुणस्तरमा समेत गुनासो आउने गरेको सुनाउँछ ।
तर अहिले आधुनिक मेसिन प्रयोग गरेर खुवा पकाउन थालेपछि धेरै सजिलो भएको र दाउराको खपत ७५ प्रतिशतले घटेको सुजन बताउँछन् । अर्कोतिर समयको पनि बचत र उत्पादन लागतसमेत घटेको उनले सुनाए ।
मेसिनको प्रयोग गर्दा एक जनाले दिनभरमा २ हजार लिटरसम्म दुधको खुवा सजिलै पकाउन सक्छन् । सुजनले दुई साता अघि भारतको दिल्लीबाट १४ लाख रुपैयाँको लागतमा खुवा बनाउने मेसिन खरिद गरेका हुन् ।
निजगढका तिमिल्सिना वाष्पीकरण विधिबाट स्वचालित मेसिन प्रयोग गरेर खुवा पकाउने नेपालमै दोस्रो किसान हुन् । यसअघि काभ्रे रजबासका राजकुमार थापा मगरले यस्तो आधुनिक मेसिनको प्रयोग गरेर खुवा उत्पादन गर्दै आएका थिए ।
‘अहिले मेसिन आएपछि ५ सय लिटर दुध घोट्न २ देखि ३ घण्टामात्रै लाग्छ,’ सुजनले भने, ‘समय पनि धेरै कम लाग्छ, खुवाको क्वालिटी पनि धेरै राम्रो छ, दाउराको बचत पनि भयो, एक जना मान्छेले सबै काम गर्न सक्छ ।’
तिमिल्सिना परिवारले व्यावसायिक रुपमा उत्पादन गरेको खुवा काठमाडौँ, बनेपा, जनकपुर, सप्तरी, वीरगञ्ज लगायतका बजारमा बिक्री हुने गर्दछ ।
उनले एक दशक अघि सर्वहितैषी नामक डेरी सञ्चालन गरेर स्थानीय पशुपालक किसानको दुध सङ्कलन गर्दै आएका छन्, जसमा २ सयदेखि २५५ जना किसान आवद्ध छन् । किसानहरूबाट सिजनमा दैनिक २ हजार लिटरसम्म दुध सङ्कलन गरेर तिमिल्सिनाले खुवा उत्पादन गरी बिक्री गर्दछन् ।
व्यावसायिक रुपमा खुवा उत्पादनबाट सबै खर्च कटाएर मासिक १० लाख रुपैयाँभन्दा धेरै बचत हुने गरेको उनको भनाइ छ ।
तिमिल्सिना परिवारजस्तै निजगढमा मात्रै २६८ जना किसानले व्यावसायिक रुपमा कराहीमा दुध घोटेर खुवा उत्पादन गर्दछन् । जसबाट वार्षिक १८ करोड रुपैयाँको कारोबार हुने गरेको कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रका प्रमुख सरोज कोइरालाले जनाए ।
निजगढका खुवा उत्पादक किसानलाई कुशल व्यवसाय तथा परामर्श तालिम केन्द्रले लेबलिङ, ब्राडिङ, प्याकेजिङ, बजारीकरण तथा अन्य प्राविधिक सहयोग गर्दै आएको छ । सो संस्थाको प्राविधिक सहयोगमा तिमिल्सिना परिवारले खुवा पकाउने मेसिन दिल्लीबाट ल्याएको हो ।
निजगढ–६ का पशुपालक किसान प्रेमप्रसाद दंगालले सामुदायिक डेरीहरूले दुध धेरै भएर नलिएको अवस्थामा किसानले निजी डेरीमा दुध बिक्री गर्दछन् ।
‘कोरोनाकालमा पनि यहाँ दुध बिक्री रोकिएन । खुवा घोटिन्छ, दुध, दही, पनिर पनि बिक्री हुन्छ,’ दंगालले भने, ‘पैसा पनि भनेको बेलामा पाइएको छ । अरु दुध डेरीमा किसानले ५ महिनादेखि पैसा पाएका छैनन् ।’
निजगढमा अहिले व्यावसायिक रुपमा ३ वटा उद्योगले खुवा उत्पादन गरेर देशका विभिन्न भागमा पु¥याउने गरेका छन् । ‘पहिला दिनभर लागेर खुवा घोट्नुपर्थ्यो भने अहिले मेसिनबाट २० मिनेटमा २० लिटर दुधको खुवा तयार हुन्छ,’ कोइरालाले भने, ‘प्रविधिको प्रयोगले दाउराको खपत एकदमै न्यून भएको छ । पहिला ६० किलो दुधका लागि सय किलो दाउरा लाग्थ्यो भने अहिले २० किलो दाउराले पुग्छ ।’
उनले निजगढमा उत्पादन भएको खुवा एक दिन बिराएर १० देखि ११ क्वीन्टलसम्म काठमाडौँ जाने गरेको बताए । ‘निजगढको खुवाको बजार भनेको बनेपा, धुलिखेल, पनौती, जनकपुर र वीरगञ्जका मिठाइ पसलहरू, सप्तरीको बाजेको पेडा भण्डार र स्थानीय बजार हो,’ कोइरालाले भने ।
निजगढ नगरपालिका दुध उत्पादन, खुवा, मह र केरा खेतीका लागि प्रसिद्ध छ । किसानहरूले उत्पादन गरेका यी उत्पादनको ब्राण्डिङ, लेबलिङ र बजारीकरणमा भने निजगढ नगरपालिकाले कुनै सहयोग नगरेको किसानहरूको गुनासो छ ।
निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले खुवाको उत्पादन तथा बजारीकरणका लागि चालु आर्थिक वर्षमा कुनै कार्यक्रम नभएको बताए । ‘व्यावसायिक रुपमा खुवा उत्पादन र बजारीकरणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाले कुनै कार्यक्रम राखेको छैन । अब आगामी आर्थिक वर्षमा केही गर्ने हाम्रो योजना छ,’ प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले भने ।