काठमाडौँ । आर्थिक शिथिलताका कारण बैंक तथा वित्तीय संस्थाहरूले अपेक्षित कर्जा लगानी गर्न नसकिरहेका बेला सहकारीमा समेत खर्बौँ रुपैयाँ तरलता ९लगानी योग्य रकम० थुप्रिन पुगेको छ । वित्तीय अराजकता, ऋणीहरूले लगेको ऋणको साँवा, ब्याज भुक्तानी गर्न छाडेपछि झस्किएका बचत तथा ऋण सहकारी संस्थाहरू आफैँले पछिल्लो समय लगानीमा कडाइ गर्दा तरलता थुप्रिन पुगेको हो ।
राष्ट्र बैंक अन्तर्गत सञ्चालित बैंक तथा वित्तीय कम्पनीहरूमा मात्र होइन, पछिल्लो समय सहकारी विभाग, स्थानीय पालिका अन्तर्गत दर्ता भएका सहकारी संघ संस्थाहरूमा समेत खर्बौँ रुपैयाँ बराबरको तरलता ‘होल्ड’ भएको बुझिएको छ ।
सहकारी विभागका अनुसार हाल देशभरि ३१ हजार ३७३ वटा सहकारी संस्था छन्, जसमध्ये आधाभन्दाले बढी बचत तथा ऋणको कारोबार गर्दछन् ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९÷८० का अनुसार सहकारीमा कुल सेयर सदस्य संख्या ७३ लाख ८१ हजार २१८ छ । जसमध्ये करिब साढे ३१ हजारको संख्यामा रहेका सहकारीको कुल सेयर पुँजी ९४ अर्ब १५ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा सहकारी क्षेत्रमा करिब ५ खर्ब रुपैयाँ बचत भएको छ भने ४ खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ हाराहारी कर्जा ९ऋण० प्रवाह भएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा कम्तीमा पनि ६ खर्ब रुपैयाँ हाराहारी तरलता होल्ड भएको हुन सक्ने केन्द्रीय बैंककै अनुमान छ ।
केही दिनअघि नेपाल बैंकर्स संघको कार्यक्रममा उपस्थित हुँदै गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहकारी र अनौपचारिक क्षेत्रमा केन्द्रित हुँदा समस्या आएको बताएका थिए । ‘हामीले माने पनि नमाने पनि अहिले अर्थतन्त्रको ठुलो हिस्सा सहकारी केन्द्रित र अनौपचारिक क्षेत्रमा छ । यसले बैंक तथा वित्तीय क्षेत्र जस्तो औपचारिक क्षेत्रमा चुनौती बढाएको छ,’ गभर्नर अधिकारीले भने, ‘यसलाई चिर्न सहकारी क्षेत्रको सुक्ष्म अध्ययन र समस्या समाधानको खाँचो छ ।’
गभर्नर अधिकारीले मुखै खोलेर नभने पनि सहकारी क्षेत्रमा खर्बौँ रुपैयाँ तरलता होल्ड भएको आशय व्यक्त गरेका थिए । पछिल्लो समय सहकारी क्षेत्रमा समेत एकाएक समस्या आउन थालेपछि लगानी घटेको छ । उपभोग्य बजारको शिथिलताका साथै कर्जाको माग घटेपछि लगानी हुन छाडेको रामेछापस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव सोमेश थापा बताउँछन् ।
‘हामीसँग पर्याप्त नगद मौज्दात छ । संस्थाको कुल सम्पत्ति ६६ करोड ४८ लाख १९ हजार रुपैयाँ बराबर छ । २०८० असार मसान्तसम्म सदस्यहरुबाट ५० करोड ५१ लाख ६६ हजार निक्षेप संकलन गर्दै ४० करोड ५२ लाख ४४ हजार रुपैयाँ हाराहारी कर्जा सापटी दिएका छौँ,’ उनले भने, ‘कर्जा र निक्षेपको तुलना गर्दा संस्थासँग सोझै २० प्रतिशत तरलता छ ।’ थप ४७ करोड ६८ लाख ३२ हजार रुपैयाँ सेयर पुँजी रहेको भन्दै उनले बचतकर्ताहरु माग्न आएको खण्डमा जुनकुनै बेला बचत रकम फिर्ता दिन सक्ने अवस्था रहेको बताए ।
संस्थाले कुल सम्पत्तिको ७० देखि ८० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था भए पनि हाल जम्मा ६०।९७ प्रतिशतमात्र लगानी गरेको उनले बताए । सदस्यहरुबाट कर्जा माग नै नभएको र अर्कोतर्फ जोखिम देखेर संस्थाले पनि केही कर्जा लगानीमा कडाइ गरेका कारण यस्तो अवस्था आएको उनले बताए ।
संस्थासँग लगानी गर्न सकिने रकम ठुलो परिमाणमा रहे पनि कर्जाको माग नै नहुँदा लगानी गर्न नसकिएको र संस्थाको आम्दानी समेत घट्न पुगेको थापाले बताए ।
यस्तै, लगानी जोखिम लिएर दोलखा, जिरीको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेड र चरिकोटको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि कर्जा लगानी घटाएका छन् ।
२०८० असार मसान्तसम्म १ अर्ब ३३ करोड ३६ लाख कुल सम्पत्ति रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारीले ९६ करोड ९९ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थासँग सेयर पुँजी १० करोड ६७ लाख ५७ हजार ६०० रुपैयाँ छ ।
यस्तै, ७ करोड ९२ लाख ५२ हजार ६०० रुपैयाँ सेयर पुँजी रहेको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाको समेत वित्तीय स्थिति निकै सबल छ । २०८० असार मसान्तसम्म ९१ करोड ३ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले सोही अवधिमा सदस्यहरुमा ९५ करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको कर्जा लगानी गरेको जनाएको छ ।
जगेडा कोषमा १२ करोड ६१ लाख ५५ हजार रुपैयाँ जम्मा गरेको संस्थाले विभिन्न बैंक तथा वित्तीय कम्पनी र सहकारी संघहरुमा १५ करोड ८५ लाख ६९ हजार रुपैयाँ नगद मौज्दात राखेको जनाइएको छ ।
यस्तै, १६ करोड ६७ लाख २४ हजार सेयर पुँजी रहेको दोलखाकै जनचेतन बचत तथा ऋण सहकारी संस्थाले १ अर्ब ८२ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । २०८० असार मसान्तसम्म संस्थाको जगेडा कोषमा १७ करोड ५८ लाख ६८ हजार रुपैयाँ मौज्दात राखेको संस्थाले बचतकर्ता सदस्यहरुबाट १ अर्ब ६३ करोड ९ लाख रुपैयाँभन्दा बढी निक्षेप लिएको छ ।
संस्थासँग पर्याप्त तरलता रहेकाले बचतकर्ताहरुले फिर्ता माग्दा सहजै दिन सकिने संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईंले बताए । २०७२ सालको महाभूकम्पपछि संस्थाले सदस्यहरुलाई घर आवास बनाउन अधिक कर्जा प्रवाह गरेकाले यो क्षेत्रको लगानी उठ्न नसकेको उनले बताए