रिडी पावर कम्पनीद्वारा प्रवर्द्धित साझा पावर कम्पनीमार्फत निर्माणाधीन २२।५ मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनाको सुरुङ खन्ने कामअन्तरगत पहिलो ब्लास्टिङ सफलतापूर्वक सम्पन्न भएको छ । मुख्य सुरुङको आउटलेटतर्फको सुरुङमा पहिलो व्याष्टिङ भएको हो ।
तल्लो बलेफी खोला जलविद्युत् आयोजना सिन्धुपाल्चोक बलेफी गाउँपालिकामा रहेको छ । आयोजनाको बाँधस्थल बलेफीको जलवीरेमा छ भने विद्युतगृह सोही गाउँपालिकाको आँपबोटेमा रहेको छ । आयोजनामा ५.५ किलोमिट लम्बाइ र ४।६ मिटर व्यास भएको सुरुङ निर्माण हुनेछ।
उक्त सुरुङ निर्माण कार्यको इन्लेट प्रोटलको काम जम्बला कन्स्ट्रक्सन प्रालिले गरिहेको छ। त्यसैगरी अडिटतर्फ देवकोटा निर्माण सेवा प्रालिले गरिरहेको छ भने आउटलेटतर्फ त्रिवेणी ब्रह्रमायणी जेभीले गरिरहेको छ । आयोजनाको हेडवर्क्सको काम बन्दना भगवती पोखरेली जेभीले गरिरहेको छ भने विद्युत् गृह निर्माणतर्फको काम ककनी देवी निर्माण सेवा प्रालिले गरिरहेको छ ।
यो आयोजना निर्माण गर्न ४४५ करोड रुपैयाँ खर्च अनुमान गरिएको छ । २९५ करोड रुपैयाँ बैंकको ऋण र बाँकी रकम स्वलगानीबाट जुटाइनेछ ।
आयोजनामा कुमारी बैंकको अगुवाइमा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनलको संयुक्त लगानी रहेको छ । यो आयोजना २०८२ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
आयोजनामा रिडी पावरको ५५ प्रतिशत लगानी रहेको छ भने स्थानीय तथा सर्वसाधारणको ३० प्रतिशत र अन्य सेयरधनीको १५ प्रतिशत सेयर लगानी छ । रिडी पावर कम्पनीले सेयर लगानी गर्न हकप्रद सेयरबाट रकम जम्मा गरी सो लगानी जुटाइसकेको छ ।
कम्पनीले आयोजना गरेको पहिलो बलास्टिङ कार्यक्रममा सेनाका वाहिनीपति, स्थानीय प्रहरी प्रमुख, कम्पनीका अध्यक्ष, सञ्चालकलगायत कर्मचारी, ठेकेदार कम्पनीका प्रतिनिधि, स्थानीय लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।