सौर्य ऊर्जा उत्पादनका लागि ९६० मेगावाट क्षमताका ६४ आयोजना छनोट

नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्नका लागि ६४ कम्पनी छनोट गरेको छ । प्राधिकरणले सोमबार जारी गरेको सार्वजनिक सूचना अनुसार देशभरका १२७ सौर्य ऊर्जा उत्पादक कम्पनीमध्ये ६४ वटाको वित्तीय प्रस्ताव पारित गर्दै अन्तिम टुङ्गो लगाएको हो ।

यसअघि प्राधिकरणले २६३ स्थानमा १२७ सौर्य ऊर्जा उत्पादक कम्पनीको प्राविधिक प्रस्ताव पारित भएको थियो ।

विद्युत् प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँ ९४ पैसाभन्दा कम मूल्यमा विद्युत् बिक्री गर्ने उत्पादकलाई मात्रै अनुमति दिने प्रस्ताव गरेको छ । छनोटमा परेका कम्पनीहरूले प्रतियुनिट ५ रुपैयाँ ४० पैसादेखि ५ रुपैयाँ ५४ पैसामा विद्युत् बिक्री गर्ने प्रस्ताव गरेका छन् । प्राधिकरणको वेबसाइटमा प्रकाशित सूचनामा आ–आफ्नो सोलार परियोजनाहरू सहित अवार्डका लागि छानिएका बोलपत्रदाताको अन्तिम परिमार्जन सूची प्रकाशित गरिएको छ ।

प्राविधिक र वित्तीय प्रस्ताव पारित भएका ६४ वटा कम्पनीले अब ६ महिनाभित्र उक्त परियोजना निर्माणस्थलमा विस्तृत वातावरणीय परीक्षण (आइईई) गर्ने र त्यो रिपोर्ट स्वीकृत भएको १८ महिनामा आयोजना निर्माण सम्पन्न हुने लगानीकर्ता बताउँछन् । सौर्य ऊर्जामा लगानी गर्दा प्रतिमेगावाट ६ देखि ७ करोड लगानी आवश्यक पर्ने र जसमध्ये ६० देखि ७० प्रतिशत लगानी सोलार प्यानल खरिदमा खर्च हुने जनाइएको छ ।

यसैबिच कोशी प्रदेशको सुनसरी, झापा र संखुवासभामा पाँच परियोजना स्वीकृत भएका छन् । जसमा सुनसरीको कुसाहामा सोलारिज इनर्जी प्रा।लि।ले ५० मेगावाट, पशुपति इनर्जी प्रा.लि.ले सुनसरीकै बर्जुमा ५० मेगावाट, हिमालय सोलार पावर प्रा।लि।ले संखुवासभाको सितलपाटीमा १० मेगावाट, आनन्द सोलार प्रा।लि।ले सुनसरीको बर्जुमा ५० मेगावाट र इको सन पावर डेभलपमेन्ट प्रा.लि.ले धुलाबारी झापामा १० मेगावाटको परियोजना निर्माणको प्रस्ताव पारित भएको हो ।

आनन्द सोलार प्रा।लि। आनन्द इँटा उद्योगका सञ्चालक दिलिप बगडियाको हो । बगडिया रंगेली नगरपालिकाका प्रमुख पनि हुन् ।

प्राविधिक प्रस्ताव पारित भएको गोल्छा अर्गनाइजेसनको अरिहन्त ग्रीन इनर्जी प्रा।लि।को वित्तीय प्रस्ताव भने पारित हुन सकेन । बगडियाले प्रस्ताव गरेको मोरङको कटहरी र रंगेलीमा १०–१० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव भने पारित हुन सकेन ।

यस्तै उदयपुरमा सुनलाइट इनर्जीले जलजलेमा १० मेगावाट, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले तेह्रथुममा २० मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेको थियो । ती प्रस्ताव पनि पारित भएनन् ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.