१० महिना नपुग्दै फेरिए चार भन्सार प्रमुख

प्रमुख भन्सार कार्यालयहरूमा निरन्तर हुने सरूवाले भन्सार प्रशासनको स्थायित्वमा प्रश्न उठाएको छ।

भैरहवा, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयका प्रमुखहरूलाई १० महिना नपुग्दै फेरबदल गरिएको छ।

२०८० कात्तिकमा जिम्मेवारी सम्हालेका यी प्रमुखहरू सोमबार सरूवामा परेका हुन्।

१० महिना नपुग्दै सरूवामा परेका भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमलाई भन्सार जाँचपास परीक्षण कार्यालयमा सरूवा गरिएको छ।

त्यस्तै उपसचिव मानबहादुर पौडेललाई कृष्णनगर भन्सार कार्यालयबाट जनकपुर भन्सारमा, रामप्रसाद रेग्मीलाई मेची भन्सार कार्यालयबाट भैरहवा भन्सारमा र ध्रुवराज विश्वकर्मालाई नेपालगञ्जबाट गौतम बुद्ध विमानस्थल भन्सार कार्यालयमा सरूवा गरिएको छ।

सोमबार भन्सारसँग सम्बन्धित १९ जना उपसचिवहरूको सरूवा गरिएको थियो। मंगलबार यो सरूवा सर्कुलर गरिएको हो।

अर्थमन्त्री परिवर्तन भएपछिको नियमित सचिवदेखि विभागीय प्रमुखसम्मको सरूवा हुँदै आएको छ। तर कर्मचारीहरूले यो पटकको सरूवालाई शंका र असन्तुष्टिका दृष्टिले हेरिरहेका छन्।

अहिले भन्सारमा सबै नयाँ अनुहार देखिएको छ। भन्सार अन्तर्गत पाँच जना सहसचिव हुने गरेकोमा पाँच जना नै परिवर्तन भएका छन्।

भन्सार विभागमा एक जना महानिर्देशकसहित दुई जना उपमहानिर्देशक सहसचिव रहन्छ। त्यस्तै वीरगञ्ज र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा सहसचिवको दरबन्दी रहेको छ। अहिले सबै जनाको सरूवा गरेर नयाँलाई जिम्मेवारी दिइएको छ।

यद्यपि धेरै जना पहिले भन्सारमा काम गरेका र राजस्वका क्याडर भएका कारण काममा प्रभाव नपर्ने अर्थमन्त्रालयका अधिकारीहरूले बताएका छन्।

तर अहिलेको सरूवा प्रति धेरै गुनासो गरिएको छ। उनीहरूले सरूवा गर्दा कामको आधार र कार्यकालको अवधिलाई ध्यानमा राख्नुपर्ने भए पनि नेतृत्व परिवर्तनपछि नेतृत्वसँग नजिक भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने चलन बढ्दै गएको गुनासो गरेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.